×

वीरगञ्ज, १० साउन । पहिलो र दोस्रो चरणको कोरोना संक्रमणको चपेटाबाट गुज्रिएको वीरगञ्जमा संक्रमितको संख्या ओरालो झर्दै गएको छ । छिमेकी राष्ट्र भारतसँग खुला सिमाना जोडिएको पर्सा जिल्लामा संक्रमणको संख्या ओरालो झर्नुलाई अधिराज्यभरी अर्थपूर्ण रुपमा हेरिन्छ । यसर्थ पछिल्लो परिवेशलाई तुलना गर्ने हो भने देशैभर संक्रमितको संख्या कम हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञालाई खुकुलो पारिएको अवस्था छ । 

उता तेस्रो चरणको कोभिड भेरियन्टले चर्चा बटुलिरहेको अवस्थामा निषेधाज्ञा खुकुलो गर्नु उचित हो या अनुचित ? भनेर वीरगञ्जस्थित नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासलाई सोधिएको सवालको जवाफमा उनले भने, ‘हुन त सबै बन्द गर्नु पनि त्यति ठीक हैन । तर खोल्ने बहानामा अव्यवस्थित ढंगले स्वास्थ्य मापदण्डको पालनालाई पनि अवज्ञा गरेको देख्दा भने यसले पछि ठूलै संकट निम्तिने हो की भन्ने आशंका भने उत्पन्न भएको छ ।’ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत तेस्रो लहरको कोरोना संक्रमण फैलिने सङ्केत  गर्दै भौतिक पूर्वाधार तयारी अवस्थामा राख्नुका साथै स्वास्थ्य मापदण्डको पालना गर्न सचेत गराइसकेको अवस्थामा नागरिक आफै डाक्टर बन्ने परिपाटी हावी भइरहेको डा. दासको तर्क छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा हुने परीक्षणको रिपोर्टअनुसार पर्सा जिल्लामा हाल १ देखि २ प्रतिशत मात्रै संक्रमण दर रहेपनि अहिलेको जस्तै भिडभाड र लापरवाही बढ्न सक्ने डा. दासको  अनुमान छ । 

कोरोना संक्रमण दर कम भएपनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्ष्णका बिरामी बढेकोमा भने उनले चिन्ता व्यक्त गरे । शरीर गल्ने, आलस्य हुने, खाना नरुच्ने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर भारी हुने, ज्वरो आउने जस्ता लक्ष्ण देखिएका बिरामीको संख्या भने अस्वभाविक रुपमा बढेको डा. दासले बताए । 

लक्ष्ण देखिदा पनि रिपोर्ट नेगेटिभ आएपछि कतिपय बिरामीले पिसिआर मेशिनमै समस्या भएको आशंका व्यक्त गरेपनि मेशिनमा समस्या आएको भन्न नमिल्ने डा. दासले बताए । उनले भने, ‘विगतमा पनि यसरी नै परीक्षण भइरहेको हो । अहिले आएर समस्या आएको भन्न नमिल्ला । तर लक्ष्ण भने कुनै अरु नै भाइरल होकी भन्ने आधार प्रशस्त भएको डा. दासको बुझाई छ । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, नर्स, चिकित्सकदेखि बिरामी गरेर ७० देखि ८० प्रतिशत बिरामीमा भाइरल ज्वरोको प्रकोप देखा परेको हुँदा सबैले स्वास्थ्यमा सचेतन अपनाउनुपर्ने आवश्यक्ता पनि उनले औँल्याए । 

पहिलो चरणको कोभिड १९ बाट पाठ नसिकेर लापरवाही गर्नुको परिणामस्वरुप नै दोस्रो चरणमा जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै डा. दासले अब तेस्रो चरणको कोभिड १९ आउनुपूर्व नै हरेक नागरिकले आफ्नो स्वास्थ्यको आफै ख्याल गर्नुको विकल्प नरहेको बताए । 
 

Back to top