×

वीरगञ्ज ४ साउन । पर्सा जिल्लामा एक वडा अध्यक्ष र वडा सदस्य सरकारी मोटरसाइकलमा लागूऔषध ओसारपोसार गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

जिल्लाको पकाहमैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष (अमिरिका) अम्बिका सहनी, वडा सदस्य बलिष्टर सहनी र प्रह्लाद सहनी सरकारी नम्बरको मोटरसाइकलमा लुकाएर राखेको लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् । 

वडा अध्यक्ष अमिरिका सहनी र वडा सदस्य बलिष्टर सहनी नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट सादा पोशाकमा खटेको प्रहरी टोलीले तिनै जनालाई विशेष सूचनाको आधारमा गएराति १० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बर्वा नजिकैबाट सरकारी नम्बरको मोटरसाइकलमा ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डेका अनुसार विशेष सूचनाको आधारमा वडा अध्यक्ष अमिरिका सहनी चढेको ना १ ब ३५९५ नम्बर भएको गाउँपालिका कार्यालयको पल्सर मोटरसाइकलमालाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन जस्तो देखिने बस्तु फेला परेको थियो । 

प्रहरीले अमिरिका सहनीसँगै आएको ना ६२ प १९४२ मा सवारी वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र सोही मोटरसाइकल पछाडी सबार ५२ वर्षीय राम आदेश सहनीलाई पनि नियन्त्रणमा लिएको एसपी पाण्डेले जानकारी दिए ।

पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सा ल्याई अनुसन्धान अगाडी बढाइएको एसपी पाण्डेले बताए ।

स्रोतका अनुसार उनीहरुलाई छोडाउन नेकपा एमाले पर्साका नेताहरुले जिल्ला प्रहरी कार्यालयको दौडधुप सुरु गरेका छन् ।

Back to top