×

वीरगञ्ज, ३ जेठ । विकास निर्माण तथा योजनाहरुमा भागवण्डा खोज्ने र विभिन्न राजनितिक नियुक्तीमा आफ्ना आसेपासेलाई नियुक्ति दिने राजनितिक दलका प्रमुखहरु हराएका छन् । चुनावको समयमा भोट माग्न जनताको घरदैलोमा पुग्ने पार्टी प्रमुखहरु अहिले महामारीको समयमा जनताको समस्या बुझ्न त परै जाओस्, आफ्नै घर बाहिर निस्किएका छैनन् ।

कोरोना भाइरस संक्रमणका कारण संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको पर्सामा अँझ सशक्त रुपमा उत्रिएर जनताको विश्वास जित्नुको साटो उल्टै लुकेर बसेका छन् । नागरिक त्रसित भएर जोखिमपूर्ण अवस्थाको सामना गरीरहेका बेला नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का प्रमुखहरु निदाएर बसेको उनकै पार्टीका कार्यकर्ताहरु बताउँछन् । पार्टीगत कार्यक्रमहरुमा हजारौ कार्यकर्ताहरु जम्मा गर्ने र चन्दा संकलन गरेर भब्य कार्यक्रम तथा सभा समारोह गर्न सक्ने राजनितिक दलहरु महामारीको समयमा जनताको सुरक्षाका लागि किन केही गर्न नसकेको भन्ने प्रश्न पनि जनमानसमा उब्जिएको छ ।

सामान्यतयाः साना–साना कुराहरुको लागि पनि जम्बो टोली लिएर सरोकारवालाहरुलाई डेलिगेसन बुझाउने राजनीतिक दलहरु स्वास्थ्य सामाग्री अभाव, जनशक्तिको कमी लगायतका ठूला–ठूला विषयहरुमा विज्ञप्तीसमेत निकाल्न सकेका छैनन् । उपचार तथ अक्सिजनको अभाव, भेन्टिलेटर खाली नहुँदा ज्यान गुमाउनुपर्ने बाध्यता एकातर्फ छ । अर्काेतर्फ निषेधाज्ञाका कारण दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई रोगभन्दा पनि भोकको पिर छ ।

यस्तो अवस्थामा कहाँ छन् त राजनीतिक दलका प्रमुखहरु भनेर खोजी गर्ने क्रममा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजारा सम्पर्कमा आए । यात्राडेलीसँगको संवादमा अध्यक्ष हजाराले निषेधाज्ञाको पालना गर्नु सबैको दायित्व भएको बताउँदै विभिन्न जनसंगठनमार्फत सचेतना फैलाउने तथा बिनाकाम निस्किएका मोटरसाइकल चालकहरुलाई जरिवाना तिराउने काम भइरहेको बताए । हामी आफैले समाचार लेखेअनुसार उक्त काम त जिल्ला प्रहरी कार्यालय पर्साले गरीरहेको छ । तर हजाराको भनाईअनुसार प्रहरी प्रशासन एमालेका जनसंगठन हुन त ? संघिय सरकारले गरेको कामलाई पनि उनले आफ्नो पार्टीले गरेको भन्दै जस लिन खोजेका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकमा सहभागी हुने र अक्सिजन तथा आवश्यक स्वास्थ्य सामाग्रीको पूर्ति गराउने काम पनि भएको हजाराको जिकिर छ । विगतका दिनमा राहतवितरणमा होडबाजी नै चलेको हुँदा अहिले भने राहतको आवश्यक्ता नभएको हजारा बताउँछन् ।  उनले भने, ‘एकदमै आवश्यक भएकाहरुलाई विभिन्न संघ संस्थाहरुले उपलब्ध गराएकै छन् । गत वर्ष हुने नहुने सबैलाई वितरण गर्दा राहत नपाउने कोही पनि भएनन् । त्यसैले यसपटक राहत वितरण गर्नुपर्ने आवश्यक्ता देख्दैन ।’ महामारीको समयमा जनशक्तिको अभाव हुनु स्वभाविक भएको हुँदा उपचार नपाएर, बेड नपाएर, अक्सिजन नपाएर तथा भेन्टिलेटरको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अब नरहेको उनले दावी गरे । अबको १/२ हप्तापछि संक्रमण शुन्य अवस्थामा झर्ने र अवस्था सामान्य हुने हजाराले दावी गरीरहँदा जनता समाजवादी पार्टी (जसपा) पर्साका अध्यक्ष रामनरेश यादव भने निषेधाज्ञालाई लम्ब्याउनुपर्ने पक्षमा छन् ।

यादव भन्छन्, ‘निषेधाज्ञा अँझै लम्ब्याउनुपर्छ । नत्र चेन ब्रेक हुने सम्भावना देखिँदैन । अहिले मृत्युदर पनि उल्लेख्य मात्रामा बृद्धि भइरहेको हुँदा वीरगञ्ज र ग्रामिण क्षेत्रको अवस्थाअनुसार निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेर भएपनि बढाउन आवश्यक छ ।’ डिसीसीएमसीको बैठकहरुमा सहभागी भएर व्यवस्थापनका कामहरुमा तदारुकताका साथ लागीरहेको यादवको अडान छ । पार्टीका जिल्ला सचिवहरुको पहलमा कोभिड एक्सन टिम (क्याट) लाई सक्रिय बनाएर अस्पतालको व्यवस्थापनहरुको अनुगमन र सुधारका कामहरु भइरहेको यादवले बताए । सोमवार नै अनुगमन र अध्ययन गरेर मंगलवार सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने र व्यवस्थापनको प्रणालीमा सुधार ल्याउने विश्वास उनले व्यक्त गरे ।

कोही संक्रमितले एकैपटक ३–४ वटासम्म अक्सिजन भण्डारण गरेर राख्ने हुँदा समस्या सृजना भएको बताउँदै अध्यक्ष यादवले भने, ‘कुपन सिस्टम लागु गर्ने कुरा छ । कुपन देखाएर एउटा सकिएपछि अर्काे दिने व्यवस्था गर्न भनेका छौँ, त्यस्तो भएमा अक्सिजनको अभाव हुँदैन ।’ ‘हाम्रै निर्देशनका आधारमा स्थानीय सरकारले आफ्नै तहमा आइसोलेसन सेन्टर निर्माण, औषधी वितरण लगायतका कामहरु गरेका हुन्’ उनले भने । 

नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीसँग पटक–पटकको प्रयासपछि सम्पर्क भएपनि कुरै पूरा हुन नपाउँदै उनको मोवाइल स्वीचअफ भयो । द्विवेदीसँग भएको आधा कुराकानीअनुसार ग्रामिण क्षेत्रका संक्रमितहरुको लागि उपचारमा समन्वय गर्ने, बेडको व्यवस्थापन गर्ने लगायतका कामहरु पार्टीका नेता कार्यकर्ताहरुले गरीरहेका छन् । त्यस्तै संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका कामकारवाहीमा समन्वय गर्ने काम पनि भइरहेको द्विवेदीले बताए । 

नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष विजय महतो भने पूर्ण रुपमा निषेधाज्ञाको पालना गर्दै घरमै बसेको स्विकार गरे । महामारी नियन्त्रण तथा रोकथामको मुख्य जिम्मेवारी सरकारको र दोस्रो जिम्मेवारी राजनीतिक दलको भएको महतोको भनाई छ । गत वर्ष गाउँपालिकाहरुले बाहिरबाट प्रवेश गर्नेहरुको लागि क्वारेन्टिको व्यवस्थापन गरेपनि अहिले निर्माण नहुँदा ग्रामिण क्षेत्रमा व्यापक रुपमा संक्रमण फैलिएको बताए । यो समाचार लेख्नुको मुख्य उद्देश्य भनेको राजनीतिक  दलका प्रमुखहरुले के गरीरहेका छन् भनेर जनतालाई जानकारी गराउने हो । तर के गरीरहेका छौँ भन्दा पनि सरकारले के गर्नुपर्छ भन्ने विषयमा महतो बढी केन्द्रित भए ।

डिसीसीएमसीको बैठकमा म आफै सहभागी भएर १५ जनाभन्दा बढी भेला नहुने भनेपनि २ सय जना जन्ती आएर बिहे गराउने काम भइरहेको उनको भनाई छ । त्यस्तो अवस्थामा आफैले रोक्ने तथा प्रशासनलाई खबर गर्ने काम किन गर्नुभएन भनेर सोध्दा महतोको जवाफ यस्तो थियो, ‘यस्तो गर्दा गाउँबासीमा राम्रो सन्देश जाँदैन, आफै पुलिसको सिआइडी गरीरहेको नागरीकलाई भान हुन्छ । प्रहरी प्रशासनलाई आफै थाहा हुन्छ ।’ 

यस्तो गर्दा जनतासामु राम्रो सन्देश जाँदैन भन्नुको तात्पर्य बुझ्दा विहे तथा जनतीमा धेरै छन् भनेर प्रहरीलाई खबर गर्दा नागरिकको नजरमा नराम्रो बन्ने र भएको विश्वास पनि गुम्ने हुँदा भोटको लोभ होकी भन्ने आँकलन गर्न सकिन्छ । जनताको जीउभन्दा ठूलो केही नभएकाले विकास निर्माणका कामलाई भन्दा पनि जनताको सुरक्षालाई प्राथमिकता दिएर काम गर्न सर्वदलीय संयन्त्रको निर्माण गर्नुपर्ने उनले आवश्यक्ता औँल्याए । 

यसरी ४ दलका पर्सा जिल्ला प्रमुखहरुको धारणा बुझ्दा सारमा स्थानीय तहदेखि प्रदेश र संघिय सरकारले गरेका कामहरुको जस लिन खोजेको र आफुहरु पानीमाथीको ओभानु बन्न खोजेको स्पष्ट हुन्छ । 
 

Back to top