×

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा जनता समाजवादी पार्टीले संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । 

जनता समाजवादी पार्टी पर्साका अध्यक्षद्वय रामनरेश यादब र जगदिश प्रसाद पटेलको सयुँक्त सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि विघठित संसद् पर्सा क्षेत्र नम्बर ३ का निलम्बित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले संसद् विघटन पुर्ण रुपमा असंवैधानिक र गैर राजनितिक भएको बताएका थिए ।

जसपाका केन्द्रिय सदस्य समेत रहेका रौनियारले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नदिएको कानुनलाई प्रयोग गरी संसद् विघटन गरेर देशलाई दुर्गतितर्फ धकेलेको टिप्पणी गरेका थिए । जसपाले देशब्यापी रुपमा संसद् पुर्नस्थापना हुनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरीरहेको उनको भनाई थियो । 

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले एक महिना भित्र प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ठाउँमा आउने धारणा राखेका थिए ।

नेकपाको सरकार भ्रष्टाचारमा लिप्त रहेको र हरेक ठाउँमा आफ्ना आसेपासेलाई मात्रै राखेर संवैधानिक निकाय कब्जा गरी देशमा निरङ्कुशता लाद्ने योजना असफल पार्न जसपा सडकमा उत्रिएको यादवको भनाई थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु प्रह्लाद गिरि, रमेश पटेल, मञ्जुर अन्सारी, भिमा यादव, जसपाका नेताहरु सुरेन्द्र कुर्मी, शिव पटेल, शशिकपुर मिया, पुरुषोत्तम झा, नेजामोदिन समानी, रामचन्द्र पयिडत लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी सय भन्दा धेरैले जसपामा प्रवेश गरेका थिए । जसपा पर्साका सचिव तवरेज अहमदले स्वागत मन्तव्य व्यक्त राखेका थिए । 

दोस्रो चरणको कार्यक्रमअन्तर्गत आज अन्तिम दिन विरोध प्रदर्शन गरिएको हो । थप विरोधका कार्यक्रम पार्टीको केन्द्रिय कमिटिले छिटै परिपत्र गर्नेपनि जसपा पर्साले जनाएको छ ।

Back to top