×

प्रदेश २ सरकारको कार्य मुल्याकंनको अवस्था सन्तोषजनक रहेको प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलको दाबी

वीरगञ्ज ४ मंसिर । प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले हालसम्म गरेको कामहरुको मुल्याकंन गर्दा अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन् । 

मन्त्री सोनलले संघीयतामा सर्वाधिक आशा गरिएको प्रदेश सरकारलाई सर्वाधिक कमजोर बनाइएको बताए । संघीय सरकारले विभिन्न कानुन निर्माण गर्दै संविधानले प्रदत्त गरेको अधिकार समेत कटौती गरेर प्रदेश सरकारलाई कमजोर बनाएको उनको आरोप छ । 

यसअघिको राज्य व्यवस्थामा पनि संघीय र स्थानीय सरकार रहेकै थिए भन्दै मन्त्री सोनलले संघीयतामा भने समस्या समाधानको प्रस्थान विन्दु प्रदेश सरकार हुने आशा गरिए पनि विभिन्न हस्तक्षेप र अधिकार कटौती गरेर कमजोर पारिएका कारण त्यसो हुन नसकेको उनको धारणा छ ।

हाम्रो अभियान पर्साले वीरगञ्जस्थित होटल कुमु प्यालेसमा संघीयतामा प्रदेश सरकारको भुमिका र प्रदेश सरकारले हालसम्म गरेको काम विषयक तन्नेरीसँग मन्त्रीज्यु नामक एक कार्यक्रममा बोल्दै यस्तो उनले बताएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री सोनलले सरकारहरुबीच समन्वय अभाव र अधिकार क्षेत्रमा गरिने अनावश्यक हस्तक्षेपले गर्दा अपेक्षाकृत रुपमा काम गर्न नसकेको अनुभव कार्यक्रममा मन्त्री सोनलले सुनाए । 

संघीयता संस्थागत गर्नका लागि गर्नुपर्ने मुख्य कानुन निर्माणकोे काम प्रदेश सरकारले गरेको मन्त्री सोनलको भनाई छ । 
प्रदेश सरकारले हालसम्म संघीयता प्राप्तिका लागि प्राणको आहुति दिएर शहादत्त प्राप्त गरेका शहिद र घाइतेको सम्मान र व्यवस्थापन, भौतिक संरचना र सामाजिक विकासका लागि विभिन्न निर्णयहरु गर्दै कार्यन्वयन गरेको मन्त्री सोनलले बताए । बाँकी रहेको समयमा पनि प्रदेश सरकारका विभिन्न योजनाहरुले मुर्तरुप लिने र थप काम गर्दै जाने उनले आश्वस्त पारे । 

हाम्रो अभियानका संयोजक शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका तन्नेरीहरुको उपस्थिति रहेको थियो । 

Back to top