×

वीरगञ्ज १७ कात्तिक । जय महावीर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षले अनियमितता गरेको भन्दै कारवाही गर्न माग गरिएको ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ६ लखनपुरस्थित जय महावीर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवकुमार साह तेलीले आर्थिक चलखेलदेखि कागजमै साधारसभासम्म गराउनेलगायत अनियमितताहरु गरेको संस्थाका पूर्व उपाध्यक्ष साहेव साह तेली र पूर्व कोषाध्यक्ष होसीलाल प्रसाद तेलीले कारवाही गर्न माग गरेका हुन् । 

उनीहरुले अध्यक्ष साह विरुद्ध कारवाही गर्न सखुवाप्रसौनि गाउँपालिकाको कार्यालय, सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ नेपाल, भुमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय सिँहदरवार र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर २ मा उजुरी दिएका छन् ।

अध्यक्ष आहले हरेक बर्ष कागजमै साधारण सभा गराउने, शेयर सदस्यहरुलाई समेत जानकारी नदिई किर्ते सही गर्ने, शेयरको बोनस वितरण नगर्ने लगायतका अनियमितिता तथा सहकारी ऐन विपरितका कार्यहरु गरेको उनीहरुको आरोप छ । 

अनियमितताको विषयमा स्पष्टिकरण माग गर्दा साहले धम्कीपूर्ण अभिव्यक्ति दिने गरेको साहेब र होसिलालले बताए । 'अनियमितता गर्नुभएको छ, हामीले माग गरेको विवरणहरु उपलब्ध गराउनुस भनेर हामीले माग गर्दै अध्यक्ष साहले हामीलाई आफ्नो राजनीतिक पहुँचको धाक देखाउँदै धम्कि दिनुहुन्छ,' साहेब साह तेलीले भने । 

साह जिल्ला कृषि सहकारी संघ पर्साको अध्यक्ष समेत हुन् । जनता समाजवादी पार्टीसँग निकट रहेका उनले आफ्नो पहुँच र राजनीतिक चिनजानको धम्कि दिनेगरेका साहेबले बताए ।

उजुरीकर्ताहरुले ८ वर्षसम्मको साधारण सभाको माइनेटिङ्ग, शेयर सदस्यहरुको शेयर रकमको विवरण, ४ वर्षसम्मको बैंक खाताको स्टेटमेन्ट र खाता धारीको नामलगायतका विवरण पनि चेकजाँच गर्न माग गरेका छन् ।

यता अध्यक्ष शिवकुमार साहले आफुबाट कुनै किसिमको अनियमितता नभएको बताए । आफुले गाउँघरमा कृषकहरुको लागि गरेको राम्रो कार्य केहि व्यक्तिलाई नपचेकोले राजनीतिक रिसिवी निकाल्न आफुमाथि आरोप लगाइएको साहले प्रतिक्रिया दिए । 

'गाउँमा अरुले १५ सयदेखि २ हजारसम्ममा विक्री गर्ने मल खाद मैले ८ सयसम्ममा विक्री गरेको छु । यसो गर्दा गाउँका केहि व्यक्तिको कमिसनको कुरा नमिलेकोले म माथि उहाँहरुले यस्तो आरोप लगाउनु भएको हो,' साहले भने । 

साहले साधारणसभा नियमित रुपले सबैको उपस्थितिमा भएको दावी गर्दै भने, 'उहाँहरुले मसँग कुनै सूचना माग गर्नुभएको छैन । मागेको खण्डमा सबै सूचना उपलब्ध गराउने छु । राजनीतिक रिसिवीको कारण मलाई दोषी देखाउन खोजिँदै छ ।' 

Back to top