×

सांकेतिक तस्विर ।

वीरगञ्ज १२ कात्तिक । वीरगञ्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले गत वर्षको चैत महिनादेखि बन्द गरेका विद्यालयहरु महामारी नियन्त्रण हुँदै गएपछि सञ्चालनमा आउने भएका हुन् ।

देशको भविष्यसँग प्रत्यक्ष जोडिएको बालबालिकाहरुको भविष्य अन्योलमा पर्दै गएपछि वीरगञ्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रसँग अनुमति माग्दा सकारात्मक संकेत देखाएपछि भोलि (बिहिबार) देखि विद्यालयहरु खुल्ने भएका छन् । केन्द्रले अहिले मौखिक रुपमा अनुमति दिएपनि लिखित रुपमा भोलि मात्र वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्ने महानगरपालिका स्रोतले बताएको छ ।

विद्यालयहरुमा अहिले प्रथम चरणमा कक्षा ८, ९ र १० सम्मका कक्षाहरु मात्र सुचारु गर्न भनिएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताए । तर, विद्यालय सञ्चालन गर्दा अनलाइनको पहुँच भएकाहरुलाई अनलाइनमै र बाँकीलाई अभिभावकको स्वीकृति पश्चात विद्यालयमा बोलाएर पढाउन निर्देशन दिइएको उनले बताए ।

साथै, विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपले पूरा गर्नुपर्ने समेत निर्देशन दिइएको नगरप्रमुख सरावगीले जानकारी दिए । 

'विद्यालय खोल्न भोलिदेखि जिल्ला संकट व्यवस्थापन केन्द्रले अनुमति दिएको छ । अहिले प्रथम चरणमा कक्षा ८ देखि १० सम्मका कक्षाहरु मात्र सञ्चालन गर्नुपर्ने हामीले विद्यालयहरुलाई निर्देशन दिएका छौं,' नगरप्रमुख सरावगीले भने, 'तर, विद्यालय सञ्चालन गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण नियमहरु पालना गर्नुपर्ने हुन्छ । साबुन पानीले हात धुने व्यवस्थापनदेखि मास्क, सेनीटाईजरको समेत व्यवस्था गरी एउटा बेन्चमा बढीमा दुई जना मात्र राखेर विद्यालय सञ्चालन गर्न भनेका छौं ।'

उनले एउटा कक्षामा विद्यार्थी संख्या धेरै भएमा विद्यालयहरुले छुट्टा-छुट्टै सेक्सनको व्यस्थापन गरी आवश्यक परे दुई सिफ्टमा समेत पठनपाठन गराउने विद्यालयहरुलाई निर्देशित गरिएको बताए । अन्य कक्षाको सन्दर्भमा कुनै जोखिम नदेखिए र नबढे क्रमश कक्षाहरु थप हुँदै जाने मेयर सरावगीले भने ।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन वीरगञ्ज महानगर कमिटिका अध्यक्ष आलोककुमार चौरसियाले निर्णयलाई स्वागत गर्दै वीरगञ्ज महानगरपालिकाको पहल सकारात्मक रहेको बताए । विद्यालय सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै पूर्ण रोपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर विद्यालय सुचारु गरिने उनले दाबी गरे । चौरसियाले विद्यालयहरुको नियमित अनुगमन समेत गरिने बताए ।

सम्पूर्ण क्षेत्र खुली सकेको अवस्थामा विद्यालयलाई मात्र बन्द गरेर राख्नु अनुचित भएको बताउँदै उनले विद्यालय खोलाउन सबै सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहेको बताए ।

Back to top