×

वीरगञ्ज १ कार्तिक । वीरगञ्जमा प्रहरीले शनिबार बरामद गरेको साढे २२ केजी सुन भारतीय सून तस्करको भएको खुलेको छ । 

बिहान झण्डै २ घण्टा लामो छापामारी अपरेसनपछि बरामद भएको सुन सीमावर्ती भारतीय बजार रक्सौल निवासी अशोक सिन्हाको भएको खुलेको हो । 

वीरगञ्ज महानगरपालिका ५ रेशमकोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटबाट उक्त परिमाणको सुन बरामद भएको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । 

फ्ल्याटमा सीमावर्ती भारतीय बजार रक्सौलको विधानसभाको सिटमा उम्मेद्वारी दिएका प्रमोद सिन्हाका भाई अशोक सिन्ह बस्ने गरेका थिए । 

छापामारीका क्रममा सुन जस्तो देखिने बिस्कुट २२ केजी ५७६ ग्राम, सुन जस्तो देखिने तयारी गहना ६८१ ग्राम र चाँदी जस्तो देखिने गहना र भाडा वर्तन २ केजी २६२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । 

पक्का सुराकका आधारमा घरको ढोका फोडेर छापा मार्दा उक्त परिमाणको सामान बरामद भएको प्रहरी उपरीक्षक पन्तले बताइन् । ‘छापामारी गर्न पुग्दा फ्ल्याटमा कोही पनि थिएन, स्थानीयको रोहबरमा हामीले ढोका फोडेर छापा मारेका हौँ,’ उनले भनिन् । 

सिन्हा श्री गणेश अपार्टमेन्टको यो फ्ल्याटमा कहिलेकहीँ मात्रै आएर बस्ने गरेको स्थानीय बताउँछन् । उनी बिहान मात्रै त्यस वरपर देखिएका थिए । तर प्रहरीले छापा मार्ने बेला भने फुत्किन सफल भएको बताइएको छ ।

Back to top