वीरगञ्ज २९ असोज । पर्साको ठोरी गाउँपालिकामा प्रहरी र हतियारधारी समूह बीच गएराति दोहोरो भिडन्त भएको छ । ठोरी गाउँपालिका वडा नम्बर ४ विजयवस्ती नजिकै दुवै समुह बीच भिडन्त भएको हो ।
विजयवस्ती हुँदै राजश्व छली गरेर अवैध तरिकाले लागू औषध गाँजालगायत सामग्री आईरहेको सूचनाको आधारम ईलाका प्रहरी कार्यालय ठोरीबाट खटेको प्रहरी टोलिले एम्बुस थापेर बसेको थियो ।
त्यही समय चार जना रहेको हतियारधारी समुहले प्रहरीलाई लक्षित गर्दै फायर गरेको थियो । जवाफी कारवाहीमा प्रहरीले पनि दुई राउण्ड हवाई फायर गरेर तस्करहरुलाई पक्राउ गर सफल भएको थियो ।
पक्राउ गरिएका व्यक्ति हरुबाट प्रहरीले चार राउण्ड गोलि र एकथान भरुवा बन्दुक समेत बरामद गरेको छ । पक्राउ गरिएका व्यक्तिहरु ठोरी गाउँपालिका वडा नम्बर ४ विशाल चोकका बासिन्दा रहेका छन् ।
उनीहरुको नाम भने प्रहरीले अहिले खुलाएको छैन । पक्राउ गरिएको चारै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए ।