×

वीरगञ्ज २९ असोज । बिन्दवासिनी गाउँपालिका युवा सञ्जालले गाउँपालिकामा भइरहेका ढिलासुस्ती, भ्रष्टाचार तथा अनियमितताको विरुद्धमा गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएको छ ।

सञ्जालका संयोजक मधुसुदन चौरसियाले गाउँपालिका अध्यक्ष श्री लाल साह कानु (मोदी) र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई पाँच बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

गाउँपालिकामा भइरहेका विसंगती तथा बिकृतिका विरुद्ध आवाज उठाउने तथा अनियमितताको उर्जागर गर्ने अभिप्रायले गठित युवा सञ्जालले गाउँपालिकामा भइरहेको बिकास निर्माणमा लापरवाहीको खबरदारी गर्ने उद्देश्यले गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराइएको संयोजक चौरसियाले बताए ।

सञ्जालले आर्थिक वर्ष २०७६/७७ को खर्च विवरण सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष २०७७/७८ मा पारित भएका योजना सार्बजनिक गर्नुपर्ने, कोरोना रोकथाम, नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको खर्च विवरण सार्बजनिक गर्नुपर्ने, सामुदायिक विद्यालय मर्मत तथा शैक्षिक बेथितिको सुधार गर्नुपर्ने, गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा औषधी र स्वास्थ्यकर्मी अभावको पुर्ति गर्नुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका चौरसियाले ज्ञापन पत्र बुझाउँदै गाउँपालिकाको कमीकमजोरी बारे अध्यक्ष मोदीलाई जानकारी गराएका थिए । उनले गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधामा भेदभाव हुने गरेको, शिक्षा र स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले ध्यान नपुर्याएको, कमिसनको चक्करमा जनप्रतिनिधिहरुले गुणस्तरहिन काम गर्न दिएकोलगायतका विषय बारे अध्यक्ष मोदीलाई खबरदारी गराएका थिए ।

चौरसियाले गाउँपालिकाले आफ्नो प्रवृतिमा सुधार नल्याए आफुहरु कडा आन्दोलन गर्न बाध्य हुने बताए ।

१५ दिनभित्र मागको सम्बोधन नभए थप कडा आन्दोलन गर्ने पनि सञ्जालले चेतावनी दिएको छ । ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष कानुले युवा सञ्जालले औल्याएका विषयवस्तुमा सुधार गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

साथै उनले युवाहरुको ऐक्यबद्धतामा आगामी दिनमा पनि गाउँपालिकाले गरेका गतिविधिमा हुने कमी कमजोरीहरु पहिल्याएर सकरात्मक सुझावहरु दिन आग्रह गरे ।

Back to top