वीरगञ्ज १६ असोज । मेडिकल क्षेत्रलगायत नेपालका अन्य क्षेत्रहरुमा समेत सुधारको माग गर्दै १९ औं पटक अनसन बसेका डाक्टर गोविन्द केसीको अनसनमा पर्सावासीले पनि समर्थन जनाएका छन् ।
अनसनरत डाक्टर केसीको उठाएको मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएको डाक्टर गोविन्द केसी समर्थक समुह वीरगञ्जले शुक्रबारपनि प्रदर्शन गरेको हो ।
समुहले आज वीरगञ्जस्थति नारायणी अस्पतालमा बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टाको लागि धर्ना दिएको थियो । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर समर्थकहरुले डाक्टर केसीको माग पूरा नभए आफुहरुले कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
उनीहरुले डाक्टर केसीको तपस्या नेपाली जनता र स्वास्थ्य क्षेत्रमा सुधारको लागि भएको हुनाले सबै सरोकारवाला निकायलाई उहाँको माग प्रति एक्यबद्धता जनाउन सुझाव दिए । समुहका नेतृत्व गरिरहेका प्रकृति प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले डाक्टर केसीको मागलाई सरकारले छिटोभन्दा छिटो वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताए ।
धर्ना कार्यक्रममा नेपाल चिकित्सक संघ पर्सासँग आबद्ध चिक्तिसकहरुसमेत एक्यवद्धता जनाएका थिए । उनीहरुले डाक्टर केसीको समर्थनमा यसअघि हातमा कालो पट्टि बाँधेर सांकेतिक विरोध प्रदर्शन समेत गरिसकेका छन् ।
कार्यक्रममा नेपाल चिकित्सक संघका सहसचिव डा. निरज सिंह, संघका पर्सा जिल्ला अध्यक्ष डा.अरुण कुमार सिंह, डा. राजदेव कुशवाहा, डा. दिनेश कुमार गुप्ता, डा. विधान कोइराला, डा. शैलेश ठाकुर, सामाजिक अभियन्ता प्रकाश थारु, लालबाबु सिंह, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाइ, मन्टु श्रेष्ठ, केदार गुप्ता, गोपाल साह, दिपक पटेल, अविनाश झालगायतको उपस्तिथि रहेको थियो ।