×

वीरगञ्ज १५ असोज । रौतहटमा फेरी एक व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको छ । रौतहट प्रहरीको महिला तथा बालबालिका सेवाकेन्द्र गरुडाको हिरासतमा रहेकी एक महिलाको संकास्पद मृत्यु भएको छ ।

गैर पुरुषसँग अनैतिक सम्बन्ध बनाएको आरोपमा पक्राउ परेकी गुजरा नगरपालीका वडा नम्बर २ कटानीबजार निवासी राधिका राउतको प्रहरी हिरासतमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले महिलाको हिरासतमा मृत्यू भएको पुष्टि गरेका छन् ।

कटानीबजारका एक पुरुषसँग अनैतिक सम्बन्ध बनाएको आरोपमा उनलाई स्थानीय वडा अध्यक्षको रोहबरमा उनका श्रीमान सुमन राउतले बुधबार प्रहरीमा बुझाएका थिए ।

रंगपुर प्रहरी चौकीले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई जानकारी गराएपछि दुबैको स्वास्थ्य जाँच गराएर थप अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।

चन्द्रनिगाहपुरस्थित कार्यालयको हिरासतमा महिलालाइ राख्न असहज भएपछि उनलाई गरुडामा रहेको महिला तथा बालबालिका सेवाकेन्द्रमा सारिएको थियो ।

मृतक राधिकाले आफु छारेरोगबाट ग्रसित रहेको र लामो समयदेखि औषधि खाइरहेको प्रहरीलाई जानकारी समेत गराएकी थिइन । स्वास्थ्य परिक्षण गर्ने क्रममापनि उनले आफुलाई छारेरोग रहेको बताएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

यसअघि पनि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका दलित युवक विजय रामको गरुडा प्रहरी हिरासतमै मृत्यु भएको थियो । प्रहरीले चरम यातना दिएको कारण रामको मृत्यु भएको पुष्टि भएपछि जिल्ल्लाका एसपीदेखि डिएसपीसमेत कारवाहीमा परेका थिए ।

Back to top