×

वीरगञ्ज २ असोज । सबडिभिजन वन कार्यालय रङ्गपुरका रेञ्जर कपिलदेव यादवले चोरीको काठसहति समातिएको मोटरसाइकल विना कारवाही छोड्न लागेको आरोप लागेको छ ।

रेञ्जर यादवले तस्करहरुसँग सेटिङ मिलाएर चोरीको काठसहित पक्राउ गरिएको मोटरसाइकल छोड्न लागेको स्थानीयहरुले आरोप लगाएका हुन् । मोटरसाइकल छाड्नका लागि गस्तीमा रहेको टोलीले दिएको बस्तुस्थिति मुचुल्कामा परिर्वतन गर्न गस्तीटोलीलाई रेञ्जर यादवले दवाव दिएको स्रोतको दावी छ ।

यता गस्तीमा खट्ने टोलीले चोरी तस्करी गर्ने तस्करहरुको मनोवल बढाउने कार्य आफुहरुले नगर्ने अडान लिएका छन् । उनीहरुले मोटरसाइकल छोडनकालागि मुचुल्कामा परिर्वतन नगर्ने बताएका छन् ।

भदौ ३१ सबडिभिजन वन कार्यालय रङ्गपुरको गस्ती टोलीले पटेर्वासुगौली गाउँपालिका–४ भतौडाबाट ७ क्युफिट सालको काठ बरामद गरेको थियो ।

सुबेदार प्रदीप तिमल्सिनाको नेतृत्वमा खटिएको वन कर्मचारीको टोलीले दुईवटा मोटरसाइकलमा लोड गरिएको ७ क्युफिट काठ बरामद गरेको थियो ।

राष्ट्रिय वनबाट रूख कटान गरी ना.२४प २३५९ र ना.६प ९०४ नम्बरको मोटरसाइकलमा काठ राखेर तस्करहरूले देवरिया र निचुटा चिरान मिलमा लगिरहेको अवस्थामा वन गस्ती टोलीलाई देखेपछि मोटरसाइकल र काठ छाडेर तस्करहरू फरार भएका थिए ।

रेञ्जर यादवले होण्डा साइन मोटर साइकल छाडने तयारी गरेको स्थानीयको आरोप छ । यादवले जफत गरिएको तस्करीको काठ भन्दा होण्डा साइन मोटरसाइकल अन्दाजी १ सय पचास फिट टाढा रहेको बताउँदै मोटरपाइकल छोडने आधार बनाएको स्थनीयको आरोप छ ।

कोरोनाभाइरसको संक्रमणको कारण वनको दोहन बढिरहेको बेला वन रक्षाको जिम्मेवारी लिएका वन प्राविधिकहरुले नै तस्करीहरुको साथ् दिन थालेको कारण नेपालको वन विनास हुँदै गएको छ । पर्सामा वनबाट काठको तस्करी नियन्त्रण गर्नुपर्ने स्थानमा रेञ्जरले नै काठ तस्करहरुको साथ् दिनु गलत भएको बताउँदै स्थानीयहरुले विरोध गर्ने चेतावनीसमेत दिएका छन् ।

यता रेञ्जर यादवले मोटरसाइकल नछोडने र प्रतिवेदनपनि परिर्वतन नगरिने बताएका छन् ।

Back to top