×

बीरगन्ज, ३१ भदौ । ‘मन्त्रीहरु काम बिर्गाछन् प्रधानमन्त्रीलाई अपजस किन ?’ यो प्रश्न प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुले गरेका होइनन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताको पनि होइन ।

उनी हुन् – सरकारलाई खबरदारी गर्ने प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति बिमलप्रसाद श्रीवास्तव । उनी जनता समाजवादी पार्टीका सांसद हुन् ।

आइतबार श्रीवास्तवले विदेशमा अलपत्र नेपालीहरुको उद्धारको विषयमा सरकारले गरेका कामबारबाहीबारे समितिको बैठक राखेका थिए ।

श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई निमन्त्रणा गरिएको थियो ।

श्रममन्त्री आए भने अरु दुईमन्त्री आएनन् । परराष्ट्रबाट सहसचिव हरिशचन्द्र घिमिरे आए भने पर्यटन मन्त्रालयको उपस्थिति नै भएन । बोलाएका मन्त्रीहरु नआउँदा रुष्ट सभापति श्रीवास्तवले मन्त्रीहरुले काम नगर्दा प्रधानमन्त्रीलाई अपजस आइलागेको भन्दै बचाउ गरे ।

प्रधानमन्त्रीको बचाउमा श्रीवास्तवले के भने ?

‘एकातर्फ प्रधानमन्त्री दिनरात अस्वस्थताका बाबजुद पनि काम गरेर कसरी हुन्छ नेपाली सुखी हुने, कसरी नेपाल समृद्ध हुने यो अवधारणामा लागिरहनुभएको छ । सहयोगीको रुपमा रहेका मन्त्रीहरु, मन्त्रालयहरु, विभागहरुको त्यो किसिमको उहाँको धारणामा सक्रियता कम देखिएको जस्तो मैले महसुस गरेको छु ।

उदाहरण लिउँ–एउटा युएईमा गएको प्लेन…, हुन सक्ला केही कारणवश कुनै समितिद्वारा केही छलफल भयो होला । तर, (मन्त्री) आफूले पनि सेल्फ डिसिजन गर्ने एउटा परिस्थिति हुन्छ नि । त्यसकारण नै मन्त्रीलाई जिम्मेवारी दिइएको हो । आ–आफ्ना मन्त्रालय अन्तर्गतका विषयवस्तुलाई प्रस्तुत गर्ने, निर्णय गर्ने हो ।

अहिले पढेलेखेका मन्त्रीजीहरु हुनुहुन्छ । अनुभव प्राप्त छन् सबैजना । युएईमा गइसकेको प्लेनलाई आफूले सेल्फ डिसिजन गरेर कमसेकम त्यहाँको दुई सय, सवा दुई सय दाजुभाई दिदीबिहनीलाई नेपाल ल्याएर क्वारेन्टिनको व्यवस्था गर्ने, क्वारेन्टिनको व्यवस्था भएको छैन भने आफ्नै मन्त्रालयको ५÷१० लाख रुपैयाँ खर्च गरेर पनि त्यो काम गर्न सकिन्थ्यो होला ।

तर दुर्भाग्य– एकअर्कामाथि दोषारोपण गर्नेबाहेक हामीले केही गर्न सकेनौं । त्यसको नतिजा– बिर्गाछन् मन्त्रीहरु अनि दोष जान्छ प्रधानमन्त्रीमाथि ? अपजस त प्रधानमन्त्रीमाथि जान्छ ।

त्यसकारण यस्ता कुराहरुमा मन्त्रीजीहरुले, सम्बन्धित निकायले पनि कमसेकम आफ्नो विवेक प्रयोग गरेर कहाँ कुन बखत कस्तो किसिमको परिस्थिति हुन्छ त्यस अनुसारको कदम चाल्नुपर्दछ ।’

राजदूतमाथि पनि खनिए श्रीवास्तव …

साउदी अरेबियामा अलपत्र अवस्थामा रहेका नेपालीले समयमा स्वदेश फर्किन नपाउँदा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेको विषयमा पनि श्रीवास्तवले प्रधानमन्त्रीको बचाउ गरे ।

त्यो परिस्थिति आउन नदिन सम्बन्धित देशका राजदूत र दूतावासका कर्मचारीले काम गर्नुपर्ने भन्दै उनले छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।

‘राजदूत जस्तो मान्छेले त्यत्रो नेपाली दाजुभाइ दिदीबहिनीले नाराबाजी गरिरहेका छन्, आफ्नै देशका प्रधानमन्त्रीको विरुद्धमा, आफ्नै मन्त्रीहरुका विरुद्धमा । त्यो राजदूतावासले सानो व्यवस्थापन गर्न नसक्ने ? के आधारमा ती एम्बेसीहरु खडा गरिएछ ?’ उनले प्रश्न गरे

सभापति श्रीवास्तवले एक पटक प्रधानमन्त्रीलाई भेटेर मन्त्रीका गतिविधि, मन्त्रालयका गतिविधि र समितिका निर्देशन पालना नभएको विषयमा जानकारी गराउनुपर्ने बताए ।

‘समितिले एक पटक प्रधानमन्त्रीजीलाई भेट्न कोसिस गरौं र यी मन्त्रीहरुका गतिविधिहरु, मन्त्रालयका गतिविधिहरु, समितिले बारम्बार निर्देशन दिँदा पनि कुन–कुन मन्त्रालयका कुन–कुन प्रतिनिधिले सहभागी भएर किन काम गर्दैन ? यसको प्रत्यक्ष रुपमा प्रधानमन्त्रीलाई जानकारी गराउने छौं ।’

‘पर्यटनमन्त्रीले के ठानेका छन् ?’

समितिले बैठकमा बोलाउँदा पर्यटनमन्त्री भट्टराई नआएकामा सभापति श्रीवास्तव निकै रुष्ट देखिए । ‘आज पर्यटन मन्त्रालयलाई बोलाएको तर, कुनै जानकारी छैन । यो संसदीय समितिलाई के ठानेका छन् ? यस विषयमा सम्बन्धित निकायमा कुरा व्यक्त होस्’ श्रीवास्तवले भने ।

समिति सदस्यहरुले मन्त्रीसँग समय लिइएको थियो ? भनेर जिज्ञासा राखे । जवाफमा सभापति श्रीवास्तवले चिठी पठाएको र फोन पनि गरेको बताए ।

प्रधानमन्त्रीलाई खुशी पार्न खोजेकोे देखियो : प्रधान

संसदीय समितिलाई मिनी संसदका रुपमा लिइन्छ । मिनी संसदले सरकारलाई उसको कामप्रति जिम्मेवार बनाउनुपर्नेमा समितिका सभापतिले नै प्रधानमन्त्रीको बचाउ गरे ।

समितिको सदस्य रहेका कांग्रेस सांसद भीमसेनदास प्रधानले सभापतिले प्रधानमन्त्रीलाई खुशी पार्न खोजेको जस्तो देखिएको बताए । ‘मन्त्रीले काम गर्न नसक्नु भनेको प्रधानमन्त्री माथि नै प्रश्न हो । नभए प्रधानमन्त्रीले हटाउन सक्नुहुन्छ । सभापतिलाई मैले भनिदिएँ – तपाईले भने जस्तो हामी प्रधानमन्त्रीकहाँ जाँदैनौं । उहाँलाई हामीले बोलाउने हो डेलिगेसन जाने होइन’ उनले भने ।

साउदी अरेबियामा नेपालीहरुले विरोध गरे भनेर राजदूतलाई कारबाही गर्ने विषयमा पनि आफ्नो असहमति रहेको प्रधानले बताए । ‘प्रजातन्त्रमा प्रधानमन्त्रीको विरोध नगरेर कसको गर्ने ? डोनाल्ड ट्रम्पको पनि त विरोध भएको छ । त्यसकारण राजदूतलाई कारबाही गर्नुपर्छ भन्नु जायज छैन ।’ साभार onlinekhabar.com बाट

Back to top