वीरगञ्ज, जेठ १२ - वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख (मेयर) विजयकुमार सरावगीले वीरगञ्जस्थित नारायणी असपतालको जनरल सेवा ७२ घण्टा भित्र सुरु हुने जनाएका छन् । नगरप्रमुख सरावगीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै यस्तो बाएका हुन् ।
मेयर सरावगीले आफ्नो आधिकारिक फेसबुक हेण्डलबाट आज नारायणी असपतालमा उपचारत सम्पूर्ण कोरोना संक्रमितहरु डिस्चार्ज भएको बताउँदै छिटै नारायणी अस्पतालको आपतकालीन सेवा सहित अन्य सम्पूर्ण सेवाहरु पुन: सुरु हुने बताएका छन् ।
सोमबार कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका ४३ संक्रमितहरुलाई स्वास्थ्य लाभको शुभकामना दिँदै मेयर सरावगीले भोलिदेखि नै नारायणी अस्पताललाई डिसिन्फ़ेक्ट गर्ने कार्य सुरु हुने समेत जनाएका छन् ।
"कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज हुनुभएका सम्पूर्ण महानुभावहरुको पूर्ण स्वास्थलाभको कामना गर्दछु । भोली देखिनै वीरगञ्ज महानगरपालिकाले नारायणी अस्पताललाई संक्रमण मुक्त राख्न निर्मलीकरण (स्यानिटाइज)को कार्य गर्नेछ र ७२ घण्टा पछि अस्पताल पूर्णरुपमा जनरल अस्पतालको रुपमा संचालनमा आउने छ" उनले फेसबुकमा लेखेका छन् ।"
https://www.facebook.com/vijaykumar.sarawagi/posts/3152560744762972
मेयर सरावगीले नारायणीलाई सर्वसाधारण जनताले उपचार गर्न पाउने अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य महानगरपालिकाले गर्ने जनाएका छन् । साथै उनले नारायणीको जनरल सेवा सुचारु गर्न विभिन्न किसिमले विरोधका कार्यक्रम गरेर दवाव शृजना गर्ने सबैलाइ धन्यबाद समेत दिएका छन् ।
"नारायणी अस्पताललाई जनताको अस्पताल वनाउन पहल गर्नुहुने पर्सामा क्रियाशिल प्रमुख राजनीतिक दलका नेतृत्वगण,माननीयज्यूहरु, संविधानसभाका सदस्यज्यूहरु, पूर्व माननीयज्यूहरु, जनप्रतिनिधिज्यूहरु, नागरिक समाजका अगुवाहरु, प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखज्यूहरु, नारायणी अस्पातालका मेसु सहित सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, सम्पूर्ण उद्योगी ब्यवसायीहरु, संचारकर्मी मित्रहरु, आदरणीय वीरगंजवासी दाजुभाई दिदी वहिनीहरुमा विशेष धन्यवाद सहित आभार प्रकट गर्दछु । संकटको घडिमा वीरगञ्जका जनताको सेवाको लागि वीरगञ्ज महानगरपालिका तपाईहरुको साथमा हुने विश्वास दिलाउन चाहन्छु " उनले लेखेका छन् ।