×

वीरगञ्ज, जेठ ५ – मुलुककै कोरोना सङ्क्रमणको हटस्पट बनेको वीरगञ्जमा कोरोना सङ्क्रमितको लागि सञ्चालित आइसोलेशनमा प्रभावकारी उपचार तथा व्यवस्थापन मिलाइएको छैन ।

आइसोलेसनमा रहेकाहरूको अनुसार सङ्क्रमितहरूमा जुनसुकै बेला जटिल रोग लाग्ने सक्ने त्रास छ । वीरगञ्जमा हाल ९८ जना सङ्क्रमित उपचार गराइरहेका छन् । जसमध्ये नारायणीको आइसोलेसनमा ७३ जना र सिद्धार्थ माविमा २५ जना छन् ।

नारायणीको आइसोलेसनमा रहेका वीरगञ्ज – ३ छपकैया घर भएका एक सङ्क्रमितका अनुसार आइसोलेसन वार्ड नाम मात्रको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले निर्दिष्ट गरे अनुसारको मापदण्ड पूरा गरेको केही पनि छैन ।

हरेक सङ्क्रमितको लागि छुट्टाछुट्टै कोठा, शौचालय, खानेपानी र नुहाउने व्यवस्था हुनुपर्ने भनिए तापनि अस्पताल प्रशासनले यस विषयमा लापरवाही गरिरहेको छ । नारायणी अस्पतालको आइसोलेशन वार्डको एउटा कोठामा आठजना सङ्क्रमितलाई राखेर उपचार भइरहेको छ । एउटा शौचालय २४ जनाले प्रयोग गर्छन् । सामान्य अवस्थामा प्रयोग गर्न सकिने भए तापनि सङ्क्रमण भएको अवस्थामा भने यो डरलाग्दो व्यवस्थापन हो । स्नानघर पनि एउटै रहेकोले लक्षण भएका र लक्षण नभएका सङ्क्रमितहरूले एउटै स्नानघर प्रयोग गर्दा समस्या निम्तिन सक्छ ।

“आइसोलेशनमा रहेकाहरूमा हाल गम्भीर खालको लक्षण देखिएको छैन । तर के थाहा भोलि कसको अवस्था जटिल बनेर अरूलाई सिकिस्त पार्न सक्छ,” एक सङ्क्रमितको भनाइ थियो । नभई नहुने तातो पानीको व्यवस्था छैन । पछिल्लोपटक वीरगञ्जमा बढेका सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा आएकाहरूको मात्र स्वाब परीक्षण भइरहेकाले एक सातादेखि नारायणीमा भर्ना भएका सङ्क्रमितहरूको स्वाब सङ्कलन पनि नभएको उनीहरूको भनाइ छ ।

सङ्क्रमित थपिएपछि नारायणी अस्पतालका चिकित्सकहरू पनि डराएको बताइन्छ । ६ जना चिकित्सक र ६ जना स्टाफ नर्स साथै ३ जना सफाइकर्मी र एकजना सहयोगी गरी कुल १६ जनाको टिम परिचालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए । १६ जनाको ७ वटा टिम बनाइ सङ्क्रमितहरूलाई सेवा प्रदान गरिरहेको उनले बताए ।

सङ्क्रमितहरूले भने चिकित्सक र नर्ससँग भेट पनि नभएको बताउँछन् । स्वास्थ्यकर्मीहरूले सङ्क्रमितहरूको स्वास्थ्य अवस्थाबारे भने फोन सम्पर्क गरेर जानकारी लिने गरेको बताए । नारायणीको आइसोलेशनमा रहेकाहरूलाई खाना र नास्ताको राम्रो व्यवस्था नभएको भन्ने गुनासो बाहिरिएपछि आज सोमवारदेखि गैरसरकारी संस्था सानो पाइलाले खाना र नास्ताको व्यवस्थापनको जिम्मा लिएको छ ।

त्यसैगरी, सिद्धार्थ माविको सेमी आइसोलेसन वार्ड हचुवाको भरमा चलिरहेको त्यहाँको आइसोलेसनमा भर्ना भएकाहरूले बताएका छन् । विद्यालयलाई हतारमा आइसोलेशन वार्ड बनाइएको र वीरगञ्ज महानगरका स्वास्थ्यकर्मीहरूले हेरिरहेको बताइएको छ ।

आइसोलेसनमा बसेकाहरूले भने आजसम्म कसैको स्वास्थ्य अवस्था सोध्न चिकित्सकहरू नआएको गुनासो गरेका छन् । वीरगञ्जमा सञ्चालित दुवै आइसोलेशनमा मापदण्ड अनुसार कुनै व्यवस्था नभएको र भगवान भरोसे चलिरहेको सेवाग्राहीहरूको भनाइ छ ।

प्रतीक दैनिकमा यो खबर राधेश्याम पटेलले लेखेका छन् ।

Back to top