×

वीरगञ्ज, जेठ ५ – लकडाउनका बेला प्रहरी ज्यादतीका घटना बढ्दै गएका छन् । लकडाउन सुरुहुँदा वाहिर निस्कनेलाई सम्झाउने गर्दै आएको प्रहरी केहि दिनदेखि उग्र देखिन थालेका छन् । ज्यादतीका घटना एक्ककासी बढेका छन् ।

केहिदिन अगाडि मात्रै प्रहरीले नयाँ पत्रिका दैनिकका पर्सा सम्बादाता तिवारी यादवमाथि हातपात गरेको थियो भने भर्खरै दुई दिन अगाडि स्थानीय सामाजिक अभियन्ता दिपु बरनवालसँग प्रहरीले दुर्व्यहार गरेको घट्ना बारे हामीले समचार लेखेका थियौं । यो दुई घट्ना शान्त नहुँदै प्रहारीले पुन: एक वृद्ध व्यक्तिलाई निर्घात कुट्पिट गरि घाइते बनाएको घट्ना बाहिर आएको छ ।

प्रहरीले आइतबार वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित बसपार्कमा एक ६५ वर्षीय वृद्धलाई निर्घात कुट्पिट गरेर घाइते बनाएको छ ।

वीरगञ्ज नयाँ बसपार्क प्रहरी चौकीबाट खटेका प्रहरी सहायक निरीक्षक (असई) लालबाबु साहले सोहि वडाका ६५ वर्षीय नागेन्द्र पटेललाई कुट्पिट गरेर खुट्टा भाँचेका छन् । पटेल बसपार्क नजिकै रहेको होटल ऋद्धि सिद्धिका सञ्चालक हुन् ।

आइतबार बिहान ६ बजेको समयमा घरका बच्चाहरुको लागि दुध किन्न जाँदा प्रहरीले निर्घात कुट्पिट गर्दा पटेलको खुट्टा भाँचेको उनका छोरा गुञ्जन पटेलले जानकारी दिए ।

'बुवा बिहान ६ बजे बच्चाको लागि घर छेउ मै रहेको पसलमा दुध किन्न गएका थिए, त्यो बेला अचानक आएर असई लालबाबु साहले बुवालाई कुट्न थाले,' गुञ्जनले भने, 'बुवालाई कुटेपछि उहाँलाई त्यतिकै छोडेर साह त्यहाँबाट भागेका थिए, पछि स्थानीयहरुको सहयोगमा हामीले बुवालाई अस्पताल पुर्‍यायौं ।'

छोरा गुञ्जन अनुसार असई साहले पटेलसँग कुनै प्रश्न समेत नगरी अचानक हातपातप सुरु गरेको थिए । घट्ना पश्चात पटेललाई नेसनल मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो । उपचार गराएर उनि घर फर्किसकेका छन् । चिकित्सक अनुसार उनि अब ३ महिना सम्म हिड्न सक्दैनन् । पटेल नेपाल दुरसञ्चार कम्पनीका सेवानिवृत्त कर्मचारी समेत हुन् ।

गुञ्जनले प्रहरी असई साहलाई कारवाही गर्न माग गरेका छन् । आफ्नो बुबाको उपचारमा लागेको सम्पूर्ण खर्चका साथै क्षतिपुर्ति समेत व्यहोर्नुपर्ने उनको माग छ ।

घट्ना बारे बसपार्क प्रहरी चौकीका प्रहरी नायव निरीक्षक (सइ) विजय शाहीसँग बुझ्दा उहाँले आफु कहाँ यस बारे कुनै गुनासो नआएको बताए । उनले आफुलाई पनि सामाजिक सञ्जाल मार्फत घट्ना बारे जानकारी भएको जिकिर गरे ।

'असई सा'प यहाँ मसँगै हुनुहुन्छ, फेसबुकमा लेखेको जस्तै उहाँ कहीं पनि भाग्नु भएको छैन, सइ शाहीले भने, 'पिडितहरुले म कहाँ कुनै गुनासो पनि लिएर आउनु भएको छैन, मैले कुन आधारमा कसैलाई कारवाही गर्ने?, प्रहरीलाई बद्नाम गर्ने अनर्गल प्रचार पनि हुनसक्छ ।'

त्यसैगरि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी नायब उपरिक्षक(डिएसपी) विरेन्द्र बहादुर शाहीले पनि घट्ना बारे आफुलाई कुनै जानकारी नभएको बताए ।

Back to top