×

वीरगञ्ज जेठ ४- वीरगञ्ज महानगरपालीका कार्यालयले नारायणी अस्पताललाई हस्तान्तरण गरेको गण्डक हस्पिटलमा कोरोना सङ्क्रमितहरुको उपचार अझै पनि सुरु हुनसकेको छैन ।

महानगरपालिकाले गण्डक हस्पिटललाई नारायणी अस्पतालकै शाखाको रुपमा उसैको प्राविधिक सहजीकरणमा सञ्चालन हुनेगरी गण्डकसँग सम्झौता गरेको थियो । सम्झौतामा गण्डकलाई अस्थायी कोभिड अस्पतालका रुपमा सञ्चालनमा कुरा उल्लेख गरिएको छ, तर नारायणी अस्पतालको प्रशासनको बदमासीले गर्दा गण्डकमा कोरोना सङ्क्रमितहरुको उपचार तत्कालै सुरु नहुने भएको छ ।

कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गर्न वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले शनिबार नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई अस्पतालको साँचो हस्तान्तरण समेत गरेका थिए तर मेसु उपाध्यायको बदमासीका कारण गण्डक अस्पताल कोरोना संक्रमितहरुका लागि अहिले सम्म सञ्चालनमा आएको छैन ।

मेसु उपाध्यायले विभिन्न बहाना गर्दै कोरोना अस्पताल गण्डकमा सार्न नसकिने बताउँदै आएका छन्, नाम नखुलाउने सर्तमा अस्पतालमा कार्यरत एक चिकित्सकले बताए । उनले डा. उपाध्यायले नारायणी अस्पतालको कोरोना सङ्क्रमितहरुको व्यास्थापनमा समेत फेल भएको जिकिर गरे ।

मेसु उपाध्यायले मन्त्रालयबाट आएको आदेशलाई समेत नमानेको बुझिएको छ । बैशाख २८ गते मन्त्रालयले देशभरका अस्पतालहरुलाई जनरललगयातका सम्पूर्ण सेवाहरु पुन: सुचारु गर्न निर्देशन दिएको थियो । त्यसैगरि मन्त्रालयले बैशाख ३० गते नारायणी अस्पताललाई अर्को पत्र काट्दै नारायणी अस्पतालका सङ्क्रमितहरुलाई डिस्चार्ज गरेरर अन्यत्र तोकिएको अस्पतालमा कोभीड अस्पताल सञ्चालन गर्ने निर्देशन पनि डा. उपाध्यायले नमानेको बुझिएको छ ।

आफूले अस्पतालको सामान मात्रै बुझेको भन्दै मेसु उपाध्यायले अस्पताल अझै आफ्नो माताहतमा नआएको बताए । अस्पतालको गेटमा राखिएको बोर्डमा पनि महानगरको अस्पताल भनेकाले त्यो संघ सरकार अन्तरगत रहेको नारायणीकै शाखा नभएको पनि उनको प्रतिकृया थियो ।

मेयर सरावगीले गण्डकमा ७० बेडको आइसोलेसन त्यार पारेर आफुहरुले गण्डक अस्पताल मेसु उपाध्यायलाई जिम्मा लगाएको जनाए । उनले अस्पताल सञ्चालनमा लाग्ने सम्पूर्ण खर्च समेत वीरगञ्ज महानगरपालीका कार्यालयले व्यहोर्न त्यार रहेको जानकारी दिए । तर मेसु उपाध्याय हेलचक्र्याईका कारण गण्डकमा कोभिड अस्पताल सञ्चालनमा ढिलाई हुँदै गएको छ ।

'हामीले केहि खर्च गरेर गण्डकको कोभिड अस्पताल नारायणी कै शाखाका रुपमा सञ्चालन हुनेगरी नारायणी अस्पतालको प्रशासनलाई जिम्मा लागेको छौँ, मेयर सरावगीले भने, 'अहिले गण्डकमा ७० बेडको आइसोलेसन त्यार छ, कुनै पनि समय त्यहाँ सङ्क्रमितहरुलाई सिफ्ट गरेर अस्पताल सञ्चालन गर्न सकिन्छ ।'

तर नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायको ढिलाई र सुस्तीका कारण गण्डकमा सङ्क्रमितहरु अहिले सम्म पनि सिफ्ट गरिएका छैनन् । नारायणी अस्पताल र सिद्दार्थ माविमा रहेको सेमी आइसोलेसनमा रहेका सङ्क्रमितहरुले खाना, सरसफाई र चिकित्सक सम्बन्धित गुनासोहरु गरिरहँदा पनि मेसु उपाध्यायले गण्डकमा सङ्क्रमित पठाएका छैनन् ।

‘कोरोनाले विश्वभर पारेको प्रभावका बारेमा अध्यन गरेपछि मैले चैतको पहिलो हप्तादेखि नै वीरगञ्जमा छुट्टै कोरोना उपचार अस्पताल निर्माणको पहल गरेको थिएँ’, मेयर सरावगीले भने, ‘कोभिड अस्पताल सञ्चालनमा ल्याउन यसबीचमा धेरै अवरोधको सामना गर्नुपर्‍यो, अहिले सबै व्यवस्था मिलिसक्यो तरपनि मेसु उपाध्यायको कमजोरीका कारण गण्डकमा कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन ।’

यता गण्डक अस्पतालमा कोरोना सङ्क्रमितहरुलाई नसार्दा नारायणीको जनरल सेवा सुरु हुनसकेको छैन । जनरल सेवा सुरू नहुँदा सेवाग्राही चर्को मुल्य तिरेर निजि अस्पतालमा उपचार गराउन बाध्य भएका छन् ।

Back to top