वीरगञ्ज, बैशाख २० - वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको घरमा प्रशासनले छापा मारेको भन्ने खबर झुटो प्रमाणित भएको छ । केहि दिन अघि सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र पेजले मेयर सरावगीको घरमा प्रशासनले छापा मारेको भनेर लेखेको कुरा झुटो प्रमाणित भएको हो ।
पर्साको सुरक्षा निकाय र सरोकारवा पदाधिकारीहरुले मेयर सरावगीको घरमा कुनै छापा नमारिएको भने प्रष्ट पारेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारिक ललित बस्नेतले मेयर सरावगीको घरमा छापा नहानिएको बताए पुष्टि गरे । उनले । महानगरपालिका-१४ को पिपरास्थित कार्यालयमा गुणस्तरहीन चामल महानगरपालिकाले पठाएको घटनामा छानबिन भने शुरु गरिएको बताए पनि मेयर सरावगीको घरमा छापा हानिएको कुरा गलत भएको बताए ।
उनले भने, ‘कहाँबाट यस्तो हावादारी खबर आइरहेको छ । हामीले मेयरसा'बको घरमा छापा हानेका छैनौँ ।’ जिल्ला प्रहरी कार्यालय पर्सालाई पनि मेयरको घरमा छापा हानिएको बारे केही जानकारी नरहेको जनाएको छ । पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले मेएर सरावगीको घरमा छापा हानिएको कुरा आधारहिन भएको बताइन ।
उनले भनिन्, ‘मलाई पनि तीन/चार जना पत्रकार साथीहरुले फोन गरिसक्नुभयो तर यो कुरा सतप्रतिशत गलत हो, मेयरसा'बको घरमा कुनै किसिमको छापा हानिएको छैन।’
बिहीवार पिपराबाट फर्किरहेको टोली मेयरको घरअगाडि केही फोटोमा देखिएको र त्यसैलाई आधार बनाई छापा हानिएको भनी भ्रम फैलाइएको उनले बताइन् ।
वाणिज्य तथा आपूर्ति कार्यालय, पर्साका नायब सुब्बा दिलीप खङ्ग खत्वेले मेयरको घरमा छापा नहानिएको जानकारी गराउँदै गुणस्तरहीन चामलको विषयमा छानबिन भइरहेको बताए । उनले बिहीवार विन्दवासिनीको न्यू बोलबम राइस मिल र सुरज खाद्य उद्योगबाट नमूना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर पठाइएको बताए ।
सुरज खाद्य उद्योगबाट महानगरपालिकाले खरिद गरी वडा नम्बर १४ मा पठाएको चामल गुणस्तरहीन भेटिँदा वडाध्यक्ष भरत कुर्मीले स्थानीय प्रहरी प्रशासन र सञ्चारकर्मीलाई जानकारी गराएपछि त्यस विषयमा पनि छानबिन भइरहेको बताए । उनले सुरज खाद्य उद्योगको ९५० किलो चामलमध्येबाट नमुना लिएको र ३० किलो चामलको बोरामा करिब अढाइ सय ग्राम कम तौल भेटिएको पाइएपछि छानबिन अगाडि बढाइएको बताए ।
यता वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीले भने आफूलाई बदनाम गर्ने केहि गलत व्यक्तिहरुले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
‘पिपराबाट टोली फर्किरहेको अवस्थामा मेरो घरलाई चामल उद्योग हो भनेर देखाएर वडाध्यक्ष र केही पत्रकारहरुले फोटो खिचेका छन् । त्यही फोटोको आधारमा मलाई सञ्चार माध्यममा बदनाम गर्ने काम भइरहेको छ’, उनले भने, ‘केही पत्रकारहरुको समूहले निरन्तर तीन वर्षदेखि मेरो विरोध गर्दै आएका छन् । तर, ५ हजार टन चामल वितरण गरिसकेको अवस्थामा ५ बोरा खराब चामल भेटिएपछि राम्रो गरे तापनि बदनाम भइरहेको छु ।’
केही बोरामा वर्षातले गोदाममा चिसो भएका कारण ढुसी परेकोले गर्दा यस्तो अवस्था आएको तर ती चामल फिर्ता पठाई राम्रो चामलको माग गरिएको उनले बताए ।
यसैबीच, वाणिज्य कार्यालयले आज वीरगञ्ज–३० लालपर्सामा अनुगमन गर्दा प्रसोतीपुर टोलका तीनवटा पसलले बिल खरिद नदेखाएपछि जरिबाना गरेको जनाएको छ । प्रसोतीपुरका अम्बे स्टोरलाई ५ हजार, बिके स्टोरलाई ३ हजार र विश्वनाथ किराना पसललाई २ हजार रुपैयाँ जरिबाना गरेको जनाएका छन् ।