वीरगञ्ज, बैशाख ८ - वीरगञ्जमा एक युवकको वीभत्स तरिकाले हत्या गरी फालिएको शव बरामद भएको छ । वीरगञ्ज २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको हत्या गरी फालिएको अवस्थामा सोमबार विहान शव फेला परेपछि पुरै गाउँ नै भयवित भएको छ ।
वीरगञ्जको सुख्खाबन्दरगाहा (ड्राईपोर्ट) को पुर्व पट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउँन प्लानिङ्ग (नगर विस्तार) को प्लटिङ्गमा आज विहान पटेलको विभत्स तरिकाले हत्या गरी फालिएको शव फेला परेको हो ।
शौच गर्न निस्केका स्थानिय महिलाले प्लाटिङ्गमा शव देखेपछि गाउँमा हल्ला गरेका थिए । मृतका आफन्तले पटेलको शव पहिचान गरेका थिए ।
पटेलको मुख, हातखुट्टामा गम्भिर चोट लागेको छ भने, उनको घाँटी समेत कपडाले कसिएको फेला परेको प्रहरीले जनाएको छ । पटेलको हत्या गरि शव फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीले घटना स्थलको मुचुल्का उठाई मृतकको शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ । पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले भने– ‘घटना बारे थप अनुसन्धान गर्ने काम भईरहेको छ ।’
'खाना खाएपछि पेट फुलेको भन्दै खाना पचाउँनको लागि गाउँकै पसलमा जलजिरा खरीद गर्न घरबाट राती निस्केका थिए ।' उनका पिता मनोज पटेलले भने– ‘घरमै मोबाईल छोडेका रविले हामीले सोचेका थिएन यस्ता घटना हुन सक्छ, अबेर सम्म घर नफर्केपछि साथीहरुसँग गफ गरीरेका होला त्यही भएर उनको त्यती खोजीनिति गरेनौं ।’
पटेल स्थानिय एक उद्योगमा रोजगारी गरेर जिविकोपार्जन गर्दै आएका थिए । अहिले उद्योग बन्द भएपछि घरमै बस्दै आएका थिए । पटेलका २ सन्तान छन । एक तीन बर्षका छोरा र २ बर्षको एक छोरी रहेको परिवारजनले जनाएको छ ।