वीरगन्ज ७ बैशाख । प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ ।
लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले पर्सा लगाउत आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागेको हो ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले यसबारे जानकारी गराउँदै भने, ‘नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडानका लागि करिब पाँच करोड खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो ।’
भारतसँग जोडिएको खुल्ला सीमाका कारण भारतबाट रातिराति लुकीछिपी मानिस नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना सङ्क्रमण रोकथाममा झन् कठिनाइ भएको भन्दै सीसीटिभी क्यामेरा अर्को विकल्पका रूपमा अघि सारिएको बताए ।
यस्तै, सीमानाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई सय वटा साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको राज्यमन्त्री कुशवाहाले जानकारी दिए ।