वीरगञ्ज, बैशाख ७ – एकैपटक तीनजना संक्रमित भेटिएपछि संघ सरकारले पठाएको कोरोना भाइरस परीक्षण पीसीआर मेसिन ५ दिन देखि थन्काएर राखिएको छ । नारायणी अस्पतालमा बुधबार राती आइ पुगेको पीसीआर मेसिन प्रदेश र संघ सरकारको उदासीनताका कारण ५ दिनदेखि थन्किएको हो ।
वीरगञ्जको नारायणी अस्पताललाई संघ सरकारले ६ दिन पहिले नै कोभिड १९ अस्पताल घोषणा गरिसकेको छ । सरकारको घोषणापछि नारायणी अस्पतालमा कोरोनाको परीक्षण र उपचार बाहेकका अरु सबै सेवा बन्द गरि त्यहाँ रहेका बिरामीलाई नेशनल मेडिकल कलेजमा सारिएको छ ।
वीरगञ्जमा चैत ३० गते ३ जना संक्रमित भेटिएकै दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि नारायणी अस्पतालमा गत मङगलबारदेखि नै पीसीआर परीक्षण सेवा सुरु हुने बताएका थिए । तर, पीसीआर मेसिन संचालनका लागि आवश्यक अन्य उपकरण र सामग्री सरकारले नपठाएका कारण मेसिन अस्पतालको स्टोर कोठा ( गोदाम ) भित्र थन्किएको हो।
प्रदेश सरकारको पहलमा संघ सरकारले काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा रहेको पीसीआर मेसिन वीरगञ्जको नारायणी अस्पतालमा गत बुधबार नै पठाइ दिएको हो । पीसीआर मेसिन मात्रै आएको तर उक्त मेसिन संचालनका लागि आवश्यक अन्य थुप्रै उपकरण र सामान नभएका कारण मेसिन जडान गरि कोबिड १९ परिक्षण ल्याब संचालनमा ल्याउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए ।
‘पीसीआर मेसिन मात्रै आयो, तर पीसीआर जडान गरी संचालनका लागि अरु पनि थुप्रै उपकरण र औजार चाहिने रहेछ , ती सामान अहिलेसम्म उपलब्ध भएको छैन, मेसु उपाध्यायले भने, ‘मेसिन लिएर आएका विज्ञ र प्राविधिकका अनुसार अझै करिब डेढ दुई करोड जतिको उपकरण र सामान चाहिन्छ।’
उनका अनुसार, पीसीआर मेसिन संचालनका लागि बायो सेफ्टी क्याविनेट, सेन्ट्रीफयुग मेसिन, भोटेक्स मेसिन, पिपेटसेट, केमिकल राख्ने डिफ्रिज लगायतका उपकरण आवश्यक पर्छ । पीसीआर परीक्षणका लागि बायोसेफ्टी क्याविनेट मात्रै ३ वटा चाहिने भन्दै उनले भने, ‘यो सामान त नेपालमा बन्दा पनि बन्दैन, बाहिरको देशबाटै ल्याउनुपर्छ।’
पीसीआर ल्याब संचालनका लागि आवश्यक अन्य उपकरण र सामानका लागि केन्द्र र प्रदेश सरकारले पहल गरिरहेको जानकारी आफूले पाएको पनि उनले बताए । आवश्यक सबै उपकरण सामान आइ सकेपछि पनि अरु सबै व्यवस्थापन गरेर ल्याब संचालन गर्न कम्तीमा पनि ४/५ दिन लाग्ने उनले बताए।
उपाध्यायले भने, ‘तर कहिलेसम्म ती सबै सामान आउँछ यो ठोकुवा गरेर भन्न सक्ने अवस्थामा छैन । सामान आएको खण्डमा २४ सै घण्टा खटेर पनि जति सक्दो छिटटो कोभिड १९ परीक्षण ल्याब संचालनमा ल्याउने उनले बताए ।
वीरगञ्जमा पीसीआर परीक्षण छिट्टै सुरु हुन्छ – मन्त्री यादव
प्रदेश २ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले पीसीआर मेसिन संचालनका लागि आवश्यक केही उपकरण बजारमा सहजरुपमा उपलब्ध नभएकाले वीरगञ्जमा पीसीआर मेसिन संचालनमा आउन ढिला भएको बताए ।
सामाजिक विकास मन्त्रालयले आवश्यक अन्य उपकरणको खरिद प्रक्रिया सुरु गरिसकेको छ, मन्त्री यादवले भने, ‘२/३ दिन भित्र ती सामान वीरगन्जमा पुगिसक्छ , अनि छिटटै मेसिन जडान गरेर पीसीआर परीक्षण सुरु हुन्छ।’
नीतिगत भन्दा पनि प्राविधिक समस्याका कारण वीरगन्जमा पीसीआर ल्याब संचालनमा ढिला हुन गएको उनले बताए । वीरगञ्जमा पीसीआर ल्याब संचालनमा नआउँदा कोरोनाका शंकास्पद व्यक्तिको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि हेटौडाको प्रयोगशालामा पठाउने गरिएको अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।
तर हेटौडाको प्रयोगशालाले केही दिनयता थेग्न नसकेको अवस्था रहेकाले वीरगञ्जबाट स्वाब परीक्षणका लागि काठमाडौंस्थत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको उनले बताए ।
वीरगञ्जमा भने अहिले र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी ) मात्रै भइरहेको मेसु उपाध्यायले जानकारी दिए ।