×

वीरगञ्ज, फागुन २० - वीरगञ्जमा १ दिने "नव उद्यमी हाट बजार" को सम्पन्न भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, वीरगञ्ज पब्लिक कलेज र अन्तरप्रेरणा प्रालि काठमाडौँको संयुक्त आयोजनामा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभागृहमा आयोजित हाट बजार मङ्गलबार सम्पन्न भएको हो ।

नयाँ सोच भएका उद्यमी, व्यवसायी तथा युवाहरुलाई सहयोग र स्थानिया स्तरमा उद्यमशीलता विकासका कार्यमा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास र स्टार्टअप इकोसिस्टमलाई सघाउने उद्देश्यले हाट बजार आयोजना गरिएको थियो ।

२० भन्दा बढि उद्यमीहरुले आफ्नो उत्पादन र सेवा प्रदान गर्ने संस्थाको स्टल लगाएको मेलामा ४ सय भन्दा अधिक्ले भ्रमण गरेको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बजारमा सूचना प्रविधि, मिथिला कला सहितको ह्याण्डी क्राफ्टका सामानहरु, डल कुशन, शिक्षा, कृषि व्यवसाय, क्याटरिङ्ग व्यावसाय, टिफिन सर्भिस, क्रंकिट म्यानु फ्याक्चरिङ्ग तथा विद्यार्थीहरुको नयाँ आइडियालाई व्यवसायको रुपमा रुपान्तरण गर्नेसँग सम्बन्धित स्टलहरु राखी प्रर्दशन गरिएको थियो ।

हाट बजारले उद्यमीहरुलाई आफ्नो वस्तु तथा सेवाबारे भ्रमण गर्न आउनेहरुलाई जानकारी गराएका थिए । हाट बजारले स्थानीय उद्यमीहरुको मनोवल वृद्धि भएको वीरगञ्ज पब्लिक कलेजका सञ्चालक दीपक साक्यले बताए । उनले हाट बजार आयोजना सफल प्रयास भएको बताउदै आगामी दिनमा सहभागी उद्यमीहरु संग सहकार्यमा थप कार्य गर्न जानकारी गराए ।

त्यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले हाट बजार मार्फत स्थानीय उद्यमीहरुले गर्दै गरेको कार्यलाई बजारीकरण गर्ने आफ्नो उद्येश्य सफल भएको बताए । उनले वीरगञ्जमा रहेका उद्यमीहरुलाई विभिन्न लगानिकार्ता संग समन्वय गराई व्यापार विस्तार गर्न सहयोग गर्न आफ्नो योजना रहेको भने ।

नव उद्यमी हाट बजारमा प्रदर्शन गरिएका उत्कृष्ट उद्यमी र संस्थालाई विजनेश इन्कुवेशन प्रोग्राममा सहभागी गराई विभिन्न बैंक तथा उद्यमीलाई सहयोग गर्ने संस्था मार्फत लगानीका लागि समेत सहयोग गर्ने अन्तरप्रेरणा प्रालिका नीरज खनालले जानकारी दिए ।
Back to top