×

वीरगञ्ज १५ श्रावन । वीरगञ्ज हेल्थ केयर हस्पिटलले अस्पताललाई अस्थायी कोभिड हस्पिटलको रुपमा सञ्चालन गर्न दिने घोषणा गरेको छ ।

अस्पताल प्रशासनले बिहिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै अस्पताललाई नारायणी अस्पतालको मातहातमा रहनेगरि अस्थायी रुपमा कोभिड हस्पिटल सञ्चालनका लागि दिने निर्णय गरेको हो ।

पछिल्लो समय पर्सामा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेर व्यवस्थापनमा समस्या आइरहेको बेला अस्पतालले लिएको निर्णय स्वागतयोग्य रहेको सरोकारवालाहरुले बताएका छन् ।

अस्पतालको आइसोलेसनमा बेडको आभावका कारण हाल १ सय भन्दापनि बढी सङ्क्रमित होम आइसोलेसनमा बस्न बाध्य छन् ।

पर्सा जिल्लाको स्थानीय प्रशासन, अस्पतालका अध्यक्ष डा. अबुलहैस अन्सारी र स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्ने कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरसँगको छलफल अनुसार अस्पताललाई नेपाल सरकारको स्वास्थ्य मन्त्रलय अन्तर्गत रहनेगरि अस्थायी कोभिड हस्पिटलका रुपमा सञ्चालन गर्न दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन नारायणी अस्पतालले गर्ने र सञ्चालनका लागि मापदण्ड र अनुदान नेपाल सरकारले उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको ।

हेल्थकेयर हस्पिटलमा सय शैयाको कोभिड अस्पताल सञ्चालनमा अस्पतालका अध्यक्ष डा. अबुलहैस अन्सारीले जानकारी दिए । उनले सय शैयाको अस्पतालमा ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहने बताए ।

यसअघि वीरगञ्ज महानगरपालिका कार्यालय अन्तर्गत नारायणी अस्पतालको व्यवस्थापनमा गण्डक हस्पिटल अस्थायी कोभिड हस्पिटलका रुपमा सञ्चालित छ ।

Back to top