विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख नाघ्यो, मृत्यु हुने ६ लाख ६९ हजार

44

वीरगञ्ज १५ श्रावन । विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड ७१ लाख ६४ हजार ८४० पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ६९ हजार ११७ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये ६२ प्रतिशत अर्थात् एक कराेड ६ लाख ७३ हजार ६२७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५८ लाख २२ हजार ९६ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म १९ हजार २७३ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।



विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ४५ लाख ६१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ५३ हजार ५९५ जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित २५ लाख ५५ हजार ५१८ जना पुगेका छन्, जसमध्ये ९० हजार १८८ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ४३ हजार ३८४ पुगेको छ। भारतका संक्रमितमध्ये ३५ हजार २४९ जनाको मृत्यु भइसकेको छ।

रूसमा आठ लाख २८ हजार ९९० जना कोरोना संक्रमित रहेकोमा १३ हजार ६७३ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, चिली, स्पेन, बेलायत, इरान, पाकिस्तान, कोलम्बिया तथा साउदी अरेबिया रहेका छन्।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here