×

वीरगञ्ज, जेठ - वीरगञ्जस्थित नारायणी अस्तपालको आइसोलेसन वार्ड कोरोना संक्रमितले भरिएपछी नयाँ थपिएका संक्रमितहरुको उपचारमा समस्या आएको छ ।

५ बेडबाट सुरु गरिएको नारायणी अस्पतालको आइसोलेसन वार्डको क्षमता वृद्धि गरेर अहिले ७५ बेडको पुर्याइए पनि संक्रमितको संख्या थपिँदै जाँदा उपचारमा समस्या आएको अस्पतालमा कार्यरत चिकित्सकले गुनासो गरेका छन् ।

मंगलबार र बुधबार गरि वीरगञ्जमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । स्रोत र साधनको कमिले पहिला देखि नै समस्या खेपिरहेको नारायणी अस्पतालमा संक्रमित थपिँदै जाँदा चुनौती बढेको नारायणी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. निरज सिंहले बताए ।

मंगलबार भेटिएका १८ संक्रमितमध्ये १७ जनालाई वीरगञ्‍जको सिद्धार्थ स्कुलमा व्यस्थापन गरिएको क्‍वारेन्टाइनका पठाइएको हो । त्यस्तै बुधवार भेटिएका तीनजनालाई पनि त्यहीँ लगिएको छ ।

अस्पतालमा लगभग ९० जना बिरामी एकैपटक आएपछि समस्या भएको हो । पर्सा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतका अनुसार मंगलवार भेटिएका कोरोना संक्रमित अस्पतालकै नर्स र एम्बुलेन्स चालकबाहेक २० जनालाई यसअघि क्‍वारेन्टाइनका रुपमा रहेको सिद्धार्थ स्कुलमा सारिएको हो ।

नारायणी अस्पतालमा ७० जनाको उपचार भइरहेको छ । त्यस्तै सिद्धार्थ स्कुलमा मंगलवार भेटिएका १७ जना र बुधवार भेटिएका ३ सहित २० जनालाई राखिएको छ ।

डा. सिंहले संक्रमितहरुको संख्या बढ्दै जाँदा उपचार गर्न झन् कठिन हुँदै जाने बताए । 'पाँच बेडबाट सुरु भएको नारायणीको आइसोलेसनलाई हामीले स्तरोन्नति गरेर हत्तारहत्तारमा ७५ बेड सम्मको पुर्याएका छौँ, तर त्यो पर्याप्त छैन, डा. गुप्ताले भने, 'संक्रमितहरुको संख्या बढे अब यहाँ उपचार गर्न सकिन्न, हामीले अर्को ठुलो र खुल्ला स्थानको व्यवस्थापन गर्न आवश्यक देखिएको छ ।

डा. सिंहले हालका लागि सिद्दार्थ विद्यालयमा व्यस्थापन गरिने भनिएको २ सय बेडको आईसोलेसन पनि भर्न सक्ने संकेत गरे । उनले परिक्षणको दयारा बढेसँगै संक्रमितहरु पनि थपिँदै जाने बताए ।

उनले एकै ठाउँमा संक्रमतिहरुलाई राखे स्वास्थ्यकर्मीलाई समेत कोरोना फैलने जोखिम बढेको बताए । 'नारायणी अस्पतालमा कार्यरत एक सहकर्मी नर्सलाई कोरोना संक्रमण फैलेको छ, हामी पनि उपचारमा खटिरहेका छौँ, उनले भने, 'यस्तै चले हामी पनि अछुतो रहेने छैनौँ ।'

डा. सिंहले सिकिस्त बिरामीहरुलाई मात्र डाक्टरहरुको निगरानीमा राखेर अन्य सामान्य स्वास्थ्य अवस्थामा रहेका बरामीलाई अन्तै सिफ्ट गरेर उपचार गरिनुपर्ने सुझाव दिए । यसरी सिकिस्त लक्षण देखिने बिरामीका लागि आफुहरु स्टेन्डबाई रहने उनले तर्क गरे ।

'सिरियस खालका बिरामीलाई मात्र नारायणीमा राखेर अन्य सामान्य लक्षण देखाउने संक्रमितहरुलाई अन्तै सिफ्ट गर्दा हामी पनि सुरक्षित हुन्छौँ, डा. सिंहले भने, 'भोली संक्रमितहरुको उपचार गरिरहँदा हामी नै बिरामी भए सिरियस खालका बिरामीको उपचार कसले गरिदिने?'

डा. सिंहले'अहिले वीरगञ्ज नेसनल ट्रेडिङ् अथवा अन्य कुनै खुल्ला ठाउँमा सामान्य बिरामीलाई लगेर उपचार गरिन सकिने सुझाव दिए । यसरि गर्दा संक्रमितहरुको निको हुने सम्भावना बढेर जाने उनले तर्क गरे । सिंहले राज्य र प्रशासनको यसतर्फ ध्यान नपुगे स्थित भयावह बन्दै जाने चिन्ता व्यक्त गरे ।

Back to top