×

 

वीरगन्ज ५ फागुन । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको छात्रावास भवन जीर्ण हुँदा विद्यार्थीलाई बसोबासमा समस्या भएको छ । भवन जीर्ण हुँदा पानी चुहिने समस्या छ ।

छात्रछात्रा बसोबास गर्ने कोठा, शौचालय, बाथरुम, छत, पर्खाल सबै जीर्ण हुँदा समस्या भोग्दै आएको विद्यार्थी सुष्मा चौरसियाले बताइन् । ६७ वर्षअघि २००९ सालमै बनेको छात्रावास भवनमा हाल ३० छात्रा र ३५ छात्र बस्छन् । छात्रछात्रा दुवैतर्फका भवन जीर्ण छन् ।

कम्पाउन्ड नहुँदा त्रासमा छात्रा

छात्रातर्फको भवनको कम्पाउन्ड वाल भत्केको एक वर्ष बितिसक्दासमेत मर्मत भएको छैन । कम्पाउन्ड वालविनाको जीर्ण भवनमा बस्दा त्रास हुने गरेको छात्रावास इन्चार्जसमेत रहेकी विद्यार्थी रेणु सिंहले बताइन् । ‘भत्किएको कम्पाउन्ड वाल निर्माणका लागि क्याम्पस प्रशासनलाई पटकपटक आग्रह गर्दा पनि सुरुवाइ भएको छैन,’ उनले भनिन्, ‘कम्पाउन्ड वाल नहुँदा डरत्रासमै रात बिताउनुपर्छ ।’ छात्रतर्फको छात्रावास पनि जीर्ण छ । जीर्ण भवनमा बस्दा समस्या भोग्दै आएको बिएस्सी दोस्रो वर्षका विद्यार्थी सुधांशु चौरसियाले गुनासो गरे ।

मर्तत गर्न बजेट छैन : क्याम्पसप्रमुख

ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. प्रमोद कुशवाहले बजेट अभावमा छात्रावास भवनमा सामान्य मर्मत गर्नसमेत नसकिएको बताए । ‘छात्रावास भवन पुरानो भयो, नयाँ बनाउने त कुरै छाडौँ, पुरानै भवन निर्माण गर्नसमेत बजेट छैन,’ उनले भने, ‘भवन मर्मतका लागि वीरगन्ज महानगरपालिकालाई आग्रह गरेका छौँ, तर प्रक्रिया अघि बढेको छैन ।’

क्याम्पसको छात्रावासमा बसोवास गरेबापत एक विद्यार्थीले वार्षिक दुई हजार चार सय रुपैयाँ तिर्नुपर्ने नियम छ । कोठा भाडामा लिएर बस्न नसक्ने, आर्थिक रूपमा विपन्न र टाढा घर भएका विद्यार्थी छात्रावासमा बस्दै आएका छन् । साभार nayapatrikadaily.com

Back to top