×

 

वीरगन्ज २४ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी यतिवेला भारतको नयाँ दिल्लीमा छन् । दिल्ली उड्नुअघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँगको भेटमा महतो र भण्डारीलाई आफूहरलाई चार मन्त्रालय र उपसभामुख दिनुपर्ने माग राखेका थिए । तर, प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा आफूले चार मन्त्रालय दिन नसक्ने अडान लिएका थिए ।

नेकपा निकट उच्च स्रोतले भन्यो, ‘राजपाले चार वटा मन्त्रालय मागेको छ । उपसभामुख पनि दिनुपर्छ भनेर उहाँहरुले प्रस्ताव गर्नुभएको छ । तर, प्रधानमन्त्रीले दुई मन्त्रालय र उपसभामुख मात्रै दिन सकिने लचकता प्रस्तुत गर्नुभएको छ । अहिले कतिवटा मन्त्रालय दिने भन्ने विषयमा कुरा मिलेको छैन् ।’

राजपाले चार वटा मन्त्रालय पाए राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा र शरदसिंह भण्डारी सरकारमा सहभागी हुने बुझिएको छ । पछिल्लो समय राजपामा चार नेताहरुबीच गठबन्धन देखिएको छ । तर, अध्यक्ष मण्डलका वर्तमान संयोजक महेन्द्रराय यादव र सदस्य महन्थ ठाकुर भने चार नेताहरुसँग रुष्ट छन् ।

उता, प्रदेश नम्बर २ को सरकार ढाल्नेबारे पनि महतो र भण्डारीले ओलीसँग छलफल गरेको बुझिएको छ । अहिलेको सरकारको गठबन्धन ढालेर प्रदेश नम्बर २मा राजपाको एकलौटी सरकार बनाउने उनीहरुको चाहना छ । यसमा नेकपाले बाहिर बसेर सहयोग गर्नुपर्ने उनीहरुको शर्त छ ।

Back to top