×

वीरगन्ज १४ बैशाख । सत्तारुढ संघिय समाजवादी फोरम नेपालको प्रदेश २ को अध्यक्षका लागि केन्द्रिय नेताहरु उम्मेदवार हुने भएका छन् ।

पार्टी नेताहरुका अनुसार प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष समेत रहेकी केन्द्रिय उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री समेत रहेका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका केन्द्रिय कोषाध्यक्ष विजयकुमार यादव, केन्द्रिय सदस्य समेत रहेका कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, केन्द्रिय सदस्यहरु महाजन यादव, हरिनारायण यादव, प्रदेश साँसद अशोक कुमार यादव, रामकुमार , प्रदेश सचिव शेषनारायण यादव लगायत छन् ।

उपाध्यक्ष यादव र मुख्यमन्त्री राउत सर्वसम्मत भए अध्यक्ष बन्ने चाहना राखेका छन् । उनीहरु चुनावमा नजाने संकेत गरेका छन् ।तर विजय यादव चुनावका लागि समेत उम्मेदवार हुने तयारी गरेका छन् ।

प्रदेश अध्यक्षका लागि केन्द्रिय नेताहरुले चाहना राख्न थालेकाले चुनाव नै हुने संभावना बढेको देखिन्छ ।अध्यक्षका उम्मेदवारहरु मध्ये केहिले चुनावमै भीडने तयारी समेत गरेकाले सहमतिको संभावना कमजोर भएको बताईन्छ । अधिकांश जिल्लामा समन्वय समितिको चुनाव भएकाले प्रदेशमा पनि चुनाव हुने देखिएको छ ।

केन्द्रिय पदाधिकारीहरुको भन्दा प्रदेश अध्यक्ष बढि प्रभावकारी रहने विधानमा प्रावधान राखिएपछि आकर्षण बढेको छ । प्रदेश २ मा फोरमको सरकार छ । अन्य ६ वटा प्रदेशको भन्दा कयौं गुणा बढि क्रियासिल सदस्य रहेका छन् ।

शुक्रवारबाट प्रारम्भ हुन लागेको प्रदेश अधिवेशनको तयारी पुरा भईसकेको छ ।पार्टीका महासचिव रामसहाय यादव लहान पुगिसकेका छन् । पार्टी अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव उद्घाटनका लागि विहान आउने प्रदेश मुख्य सचिव शम्भु झाले बताए ।

प्रदेश समितिको विहिवार बसेको बैठकले मुख्य सचिव, कोषाध्यक्ष लगायतको प्रतिवेदनहरुलाई पारितगर्दै प्रदेश अधिवेशनका लागि ३२ जना सदस्य मनोनित गर्ने निर्णय गरेको उनले बताए ।त्यस मध्ये आठवटै जिल्लाबाट जिल्ला समन्वय समितिको सिफारिसमा ३÷३ जना र ८ जना प्रदेश समितिले चयन गर्नेछ ।

प्रदेश अधिवेशनमा झण्डै ५ सय जना प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ ।प्रदेशका ८ जिल्ला मध्ये ७ वटामा समन्वय समिति गठन भइसकेको छ । सिरहामा अधिवेशन पछि गठन हुने बताईको छ ।

Back to top