×

वीरगन्ज १६ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटमसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएको छ ।संघीय संसदको दोस्रो अधिवेशन अन्त्य भएपनि संविधान संशोधन तथा रेशम चौधरीलाई रिहा गरी सपथ खुवाउने काम हुन सकेन । राजापा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘हामीले पटक–पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसबारेमा जानकारी गराएका हौँ । तर, वहाँले वास्ता गर्नुभएन ।’आफ्नो माग प्रति सरकार उदासिन भएपछि राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेका थियो । बैठकमा वर्तमान परिस्थितिमा सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको निश्कर्षमा नेताहरु पुगेका हुन् ।यद्यपि, अन्तिम पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित रुपमै जानकारी गराउने सहमति नेताहरु बीच भएको हो । त्यसै अनुसार नै ज्ञापनपत्र बुझाउने तयारी भइरहेको बैठकमा सहभागी एकजना अध्यक्ष मण्डलका सदस्यले बताए ।‘वैशाखदेखि लगातार यो संसद चल्यो तर संविधान संशोधनको विषयले प्रवेश नै पाएन । त्यति मात्र होइन, प्रतिनिधिसभाको चुनाव जितेका एक नेताा प्रहरीको थुनामा रहेका छन् । उनलाई अझै सपथ पनि खुवाइएको छैन,’ अध्यक्षमण्डलका झाले भने, ‘प्रधानमन्त्री ओलीले आज हुन्छ, भोलि हुन्छ, पार्टीमा सल्लाह गर्दैछौँ, फलानोसँग सल्लाह गर्दैछौँ भनि अलमलाई रहनुभयो । तर, वास्तवमा त्यसबारेमा आजसम्म अनौपचारिक छलफल पनि भएको छैन ।’प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका तथा कोस्टारिकाको भ्रमणमा देशबाहिर गएका छन् । उनी असोज १९ गते फर्किँदैछन् । प्रधानमन्त्री देशबाहिर भएका कारणले ज्ञापनपत्र बुझाउन ढिलाई भएको बताउँदै उनले प्रधानमन्त्री ओली फर्किने बित्तिकै बुझाउने बताए ।केपी शर्मा ओली प्रधानन्त्री भएपछि राजपा नेपालले तीनपटक ज्ञापनपत्र बुझाई सकेको छ । यो राजपाको चौँथो ज्ञापनपत्र हुनेछ ।

Back to top