×

वीरगञ्ज । धनुषाको ढल्केबरबाट अपहरणमा परेका एक जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

धनुषाको मिथिला नगरपालिका – ६ ढल्केवरबाट अपहरणमा परेका उदयपुरको कटारी नगरपालिका – १० का लालबहादुर थापा मगरलाई प्रहरीले सप्तरीबाट उद्धार गरेको हो ।

मङ्गलवार दिउँसो थापा अपहरणमा परेका थिए । उनी अपहरणमा परेको खबरपछि खोजतलासका क्रममा भारततर्फ लगिँदै गरेको अवस्थामा सप्तरीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अपहरणमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) रञ्जन अवाले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोसी नगरपालिका– १ का जयकुमार तामाङ, त्यही ठाउँका मनिष विश्वकर्मा, उमेश विश्वकर्मा, सिराहाको गोलबजार – ६ का शङ्कर लामा र गोलबजार– २ का अरुण कुमार लामा छन् ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डिएसपी अवाका अनुसार अपहरणमा परेका थापा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीमा कार्यरत रहेको र लेनदेनको विवादका कारण उनी अपहरणमा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Back to top