×

वीरगञ्ज । मधेश विश्वविद्यालयमा साईबर अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । मधेश विश्वविद्यालयको कानुन (बिएएलएलबी) संकायका विद्यार्थीहरुलाई साइबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण दिइएको हो । 

कानुन संकायका विद्यार्थीहरुलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायधीश डा. रत्न बहादुर बागचन्दले प्रशिक्षण दिएका थिए । ईन्टरनेट प्रयोग हुने यन्त्रदेखि नेपालसहित समग्रमा विश्वभरी देखिएका साइबर अपराध सम्बन्धी घटनाका बारेमा उनले अवगत गराएका थिए । साथै साइबर अपराध नियन्त्रणका लागि नेपालको सुरक्षा व्यवस्था र साइबर अपराध सम्बन्धी कानुनी प्रावधानका बारेमा पनि उनले प्रकाश पारेका थिए । 

सो अवसरमा विद्यार्थीहरुले पनि विभिन्न किसिमका साइबर अपराध र सुरक्षा सम्बन्धी जिज्ञासा राखेको मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले बताए । उनकाअनुसार विद्यार्थीलाई सैद्धान्तिक भन्दा पनि व्यावहारिक ज्ञान दिने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो । 

त्यसअघि मधेश विश्वविद्यालयमा मुख्य न्यायधीश डा. रत्न बहादुर बागचन्दलाई स्वागत गरिएको थियो । उपकूलपति प्राध्यापक डा. शाक्यले स्वागत गर्दै डा. बागचन्दलाई मधेश विश्वविद्यालयको स्थलगत भ्रमण गराएका थिए । साथै उनले मधेश विश्वविद्यालयको हालसम्मको कार्यप्रगती र आगामी योजनाका बारेमा बताउँदै कानुन संकायका विद्यार्थीको पठनपाठनका लागि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट पनि सहयोग पाउने अपेक्षा राखेका छन् । 

डा. बागचन्दले पनि विश्वविद्यालयको प्राज्ञिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा मधेश विश्वविद्यालयका रजिष्ट्रार विजय कुमार यादव, डिन डा. मान बहादुर वि.क. र बरिष्ठ पत्रकार चन्द्रकिशोर झा लगायतको उपस्थिती रहेको थियो । 


 

Back to top