×

तस्बिर सौजन्य : सिम्रौनगढ फेसबुक पेज ।

वीरगञ्ज । बाराको सिमरौनगढमा पोखरी खन्ने क्रममा भगवान् सूर्यको मूर्ति फेला परेको छ । सिमरौनगढस्थित इतवालमा निजी पोखरी खन्ने क्रममा बुधवार मूर्ति फेला परेको स्थानीय रञ्जित कुशवाहाले बताए ।

‘डोजर लगाएर पोखरी खन्ने क्रममा सूर्यको मूर्ति फेला परेको हो । मूर्तिको तल सात वटा घोडाका आकृति छन्, जसले यो सूर्य भगवान्को मूर्ति हो भन्ने प्रस्ट हुन्छ,’ उनले भने, ‘मूर्ति निकाल्दा माथिल्लो भागमा थोरै चोट लागेको छ । मूर्ति वरपर भएका स–साना भगवान्का चोट भने पुरानै हो ।’

यो मूर्तिको लम्बाई ३६ इन्च र चौडाइ १० इन्च छ । अहिले मूर्तिलाई इतवाल नजिक बन्दै गरेको हनुमान मन्दिरमा राखिएको छ । महानगरपालिकाले सङ्ग्रहालय बनाउने हो भने यो मूर्तिसहित अन्य फेला परेका मूर्ति र सामग्रीलाई सुरक्षित राख्न सकिने कुशवाहाले बताए ।

सिमरौनगढ यस्तो ठाउँ हो, जहाँ कुनै पनि ठाउँ खन्दा केही न केही पुरातात्त्विक सामग्री फेला पर्छ । त्यही भएकाले यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ । उक्त नियमको कार्यान्वयन भने भएको छैन ।

गत वर्षको असारमा मात्रै सिमरौनगढको वडा नम्बर १ मा पर्ने नसागराढाटमा ब्रह्माको मूर्ति फेला परेको थियो ।

त्यसअघि हरिहरपूरमा भगवान् विष्णुको मूर्ति फेला परेको थियो । स्थानीय कुशवाहाका अनुसार गएको ७ वर्षमा पोखरी खन्दा अहिलेसम्म १४ वटा मूर्ति फेला परिसकेको छ ।

Back to top