×

वीरगञ्ज । मनोज ग्याँस उद्योग प्रा.ली.ले वीरगञ्जको एक विद्यालयकी शिक्षिकाको एक वर्ष बराबरको पारिश्रमिक उपलब्ध गराएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित श्री नेपाल गीता गजेन्द्र राज जोशी मावि सुखचैनामा कार्यरत उमावती देवीको एक वर्षको पारिश्रमिक हस्तान्तरण गरिएको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष राधाकृष्ण रौनियारको पहलमा मनोज ग्यास उद्योग प्रा.ली.का प्रबन्ध निर्देशक मनोज दासले विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् । वडाअध्यक्ष रौनियार, प्रबन्ध निर्देशक दासले सयुँक्त रुपमा विद्यालयका प्रधानाध्यापक अर्विन्द कुमार लाललाई एक लाख ४४ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई सहयोग गरेको उद्योगी दासले बताए । उद्योगी व्यवसायीले सामाजिक कार्यमा गरेको सहयोगको वडाअध्यक्ष रौनियारले पनि सह्राना गरेका छन् । साथै उनले आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य गर्दै समाज रुपान्तरणका लागि काम गर्नुपर्नेमा जोड दिए । 

यसअघि पनि वडाअध्यक्ष रौनियारकै आग्रहमा मनोज ग्यास उद्योग प्रा.ली.ले एक जना शिक्षकको सहयोगकै लागि एक लाख ४४ हजार रुपैयाँ उपलब्ध गराएको थियो । विद्यालयमा शैक्षिक जनशक्ति अभाव हुने र पठनपाठनका लागि निजी स्रोतबाट जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले सहयोगको खाँचो परेको वडाअध्यक्ष रौनियारले बताए । 

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का पनि चेक हस्तान्तरण कार्यक्रममा उपस्थित थिए । 

Back to top