×

वीरगञ्ज । संघीय सरकारले दिने बजेटमा वीरगञ्ज सँधै विभेदमा पर्ने गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । संघीय सरकारले देशकै आर्थिक एवम् औद्योगिक नगरीलाई उपेक्षा गरेको प्रमुख सिंहको भनाई छ । 

सार्वजनिक लेखा समितिको संसदीय टोलीलाई आफ्नै कार्यकक्षमा स्वागत गर्दै उनले वीरगञ्जलाई संघ सरकारले सँधै सौतेलो व्यवहार गरेको गुनासो गरे । काठमाण्डौ, पोखरा, भरतपुर लगायतका महानगरपालिका भन्दा कम बजेट वीरगञ्जले पाउनु न्यायोचित नहुने सिंहको भनाई छ । उनले बजेटमा गरिने विभेदको अन्त्य गरेर न्यायोचित ढंगले बजेट बिनियोजन गर्न उनले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराएका छन् । 

सिंहले भने, ‘भरतपुर महानगरमा ३९० करोड र वीरगञ्ज महानगरपालिकालाई ११५ करोड बजेट बिनियोजन हुनु दुखद विषय हो । यसमा बिचार गरियोस् । वीरगञ्जले राज्यको राजस्वमा दिने योगदानको कदर गर्दै बजेट बिनियोजन गर्न आग्रह गर्दछु ।’ 

प्रतिनीधि सभा सदस्य रामकृष्ण यादवले वीरगञ्जमाथि बजेटमा भइरहेको विभेद बारे सार्वजनिक लेखा समितिले संसद्मा छलफल गर्ने तथा सरकार लाई लिखित निर्देशन दिने आश्वासन दिएका छन् ।

सांसद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न वीरगञ्ज आएको सार्वजनिक लेखा समितिको संसदीय टोलीले स्थानिय तहसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा प्रतिनिधि सभा सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह, प्रदीप यादव, देव प्रकाश तिमिल्सिना,  प्रभु हजरा, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल,  प्रहरी उपरिक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।
 

Back to top