×

फाइल तस्बिर ।

वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल देशमा एमालेको लोकप्रियता अझ बढ्दै गएको दाबी गरेका छन् । सोमबार वीरगञ्जमा नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले इलाम र बझाङमा अहिलेको भएको उपनिर्वाचनको परिणामले एमालेको लोकप्रियता अझै बढ्दै गएको पुष्टि गरेको बताए ।

उनले भने, ‘यसअघि काँग्रेसले जितेको बझाङमा अहिले एमालेका उम्मेदवार विजयी भइसकेका छन् । उता इलाममा पनि जारी मतगणनाको परिणामले एमालेको जित सुनिश्चित गरिसकेको छ । इलाममा पनि एमाले जित्ने कुरा डीकिलियर भइसकेको छ ।’

दुई जिल्लामा भएको उपनिर्वाचनको परिणामले देशमा एमालेको बहुमत ल्याउन जनता नै आतुर रहेको तथ्यलाई प्रमाणित गरिसकेको पनि उनले बताए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले राष्ट्रिय राजनीतिमा एमालेको वर्चस्व हाबी हुँदै गएको बताए ।

अहिले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र दूर दशाको अन्त्य गर्न अबको निर्वाचनमा कुनै न कुनै दलको एकल बहुमत हुनै पर्ने आवश्यकता देखिएको बताउँदै उनले त्यो बहुमत एमालेले नै ल्याउने जिकिर पनि गरे । पोखरेलले भने, ‘किनकि जनताले काँग्रेस, माओवादी र नयाँ नक्कलेहरूलाई हेरिसके । उनीहरूबाट देशको भलो हुनै सक्दैन । त्यसका कारण अब जनताले एमालेको बहुमतको सरकार चाहेका छन् ।’

देशको विकास र आर्थिक समृद्धि एमालेबाट मात्र सम्भव भएको उनले बताए । देशका सात वटै प्रदेशमा औद्योगिक क्षेत्र र ७५३ वटै पालिकामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने मान्यता एमालेको रहेको उनले बताए । यसले रोजगारीको सृजना गर्ने र युवाहरूको विदेश पलायन रोकिने अनि मुलुक समृद्ध र सुखी हुने उनले बताए ।

उनले देशैभर एमालेको सङ्गठन बलियो भएन भने जनताको चाहना पुरा हुन नसक्ने भएकाले पर्सामा पनि एमालेलाई पहिलो पार्टी बनाउने गरी सङ्गठन निर्माणमा एकजुट भएर लाग्न जिल्लाका नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई एमालेका मधेस प्रदेश इन्चार्ज एवं पूर्व मन्त्री योगेश भट्टराई, पोलिट ब्युरो सदस्यहरू जुली महतो,अच्युत मैनाली र सदस्य डिला श्रेष्ठ, केन्द्रीय सदस्यहरू राजकुमार गुप्ता ,प्रभु हजरा र निर्मला देवकोटा लगायतका नेताले पनि सम्बोधन गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य एमालेका वीरगन्ज महानगर सचिव सुन्दर कुर्मी र उद्घोषण जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए । साभार : मधेस खबर ।

Back to top