×

वीरगञ्ज । बुधवार राम नवमीको अवसरमा कोसी प्रदेशस्थित मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा हिन्दु समुदायका युवाहरूले शोभा यात्रा निकाल्ने क्रममा भएको घटना प्रति राष्ट्रिय एकता अभियानले आपत्ति जनाएको छ ।

अभियानका अध्यक्ष विनय यादवले बिहीबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरमा हिन्दु समुदायका श्रद्धालुहरूले रामनवमी मनाउने क्रममा निकालेको शोभा यात्रामा फरक धर्मका युवाहरूले आक्रमण गरेको बताउँदै आपत्ति जनाएका हुन् ।

यादवले हिन्दु समुदायका युवकहरूमाथि आक्रमण गर्नेलाई जिहादीको संज्ञा दिएका छन् । देशको शान्ति र सद्भाव बिथोल्ने प्रयास स्वरूप अन्य ठाउँबाट नै परिचालितहरूले हिन्दु युवाहरूमाथि आक्रमण गरेको उनको ठहर छ ।

यादवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘देशभरको शान्ति र सद्भाव बिथोल्न सक्रिय जिहादी समुदायको जिहादको एक भाग रहेको हाम्रो ठहर छ । अभियान सदियौँदेखि नेपालमा बसोबास गर्दै आएका राष्ट्रभक्त मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई जिहादीहरूको प्रभावबाट बच्न आग्रह गर्दै देशमा सहिष्णुता बनाई राख्न हार्दिक अनुरोध गर्दछ ।’

साथै, आक्रमणबाट विराटनगरमा घाइते भएका श्रद्धालुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै र सरकारसँग आक्रमणकारीहरूको पहिचान गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन यादवले माग गरेका छन् ।

Back to top