×

वीरगञ्ज । वीरगञ्जको नबिल बैंकको बाइपास शाखाबाट चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म एक भारतीय सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

चोरीमा संलग्न रहेको आशङ्कामा मङ्गलवार साँझसम्म प्रहरीले नेपाल र भारतका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी अधिकृतले बताए ।

प्रहरी अधिकृतका अनुसार अहिलेसम्म पक्राउ पर्नेमा रौतहटको बुधरामका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहारको घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् ।

‘घटनामा संलग्न रहेको आशङ्कामा केही सशङ्कित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ, अझैको खोजी कार्य जारी छ,’ ती प्रहरी अधिकारीले भने, ‘यकिन भइसकेपछि उनीहरूलाई सार्वजनिक गर्छौँ ।’ प्रहरी अधिकृतका अनुसार बैंकबाट चोरी गरिएको सबै रकम चोरहरूले भारतमा पुर्‍याइसकेका छन् ।

चोरहरूले आइतबार वीरगञ्जको नयाँ बसपार्कस्थित पार्क होटेलमा छोटेलाल जयसवालको नाममा कोठा बुक गरेर बसेका ती प्रहरी अधिकृतले बताए ।

बाइपास रोडमा रहेको नबिल बैंकको शाखाबाट गत आइतबार राति चार जनाको सङ्ख्यामा रहेका चोरहरूको समूहले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरेर लगेको बैंकको सिसिटिभीको फुटेजमा देखिएको छ ।

चोरीको घटना सम्बन्धी पहिलो समाचार यात्राडेलीले प्रकाशित गरेपछि घटना बाहिरिएको थियो । चोरीमा बैंक कर्मचारीहरूको समेत संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

Back to top