×

वीरगञ्ज । काली कम्बल वाला बाबा एकाएक गायब भएपछि ज्योतिषी पण्डित महापुरे वीरगञ्जमा आएका छन् । वीरगञ्जको बसपार्क भानु चौकस्थित होटल रिद्धिसिद्धिको कोठा नम्बर २०३ मा बसीरहेका भारत महाराष्ट्रको नागपुर निवासी ज्योतिषी पण्डित महापुरे हस्तरेखा, जन्मकुण्डली र अनुहार हेरेर भविष्य हेर्न वीरगञ्ज आएको यात्राडेलीलाई बताए । 

यसअघि सिराहाको लहानबाट वीरगञ्ज आएका महापुरेले हस्तरेखा र जन्म कुण्डली हेर्नु आफ्नो खानदानी पेसा भएको बताए । उनले यात्रा डेलीसँगको संवादमा भने, ‘मैले केही पढेको छैन, मेरो बुबाको गुरु मेरो हजुर बुबा हुनुहुन्थ्यो, मेरो गुरु मेरो बुबा हुनुहुन्छ । यो हाम्रो खानदानी पेसा हो ।’ 

उनकाअनुसार ज्योतिषी कुनै जादु मन्त्र नभएर अन्यौल र द्विविधामा परेकाहरुलाई बाटो देखाउने माध्यम हो । उनले थपे, ‘एक जना हस्तरेखा हेराउन आउनुभएको थियो, उहाँले रोग लागेको बताएपछि मैले अस्पताल गएर चिकित्सकलाई देखाउन आग्रह गरे ।’ 

वीरगञ्जमा तेस्रो पल्ट आएका पण्डित महापुरेले चैत ९ गतेसम्म वीरगञ्जमा रहेको जानकारी गराए । राजनीतिक, प्रेम सम्बन्ध, वैवाहिक सम्बन्ध, सन्तान नहुनु, पढाईमा मन नलाग्नु, भुल्नु, व्यापारमा नोक्सानी हुनु, उमेर धेरै भएर पनि विवाह नहुनु, पारिवारीक कलह हुनु लगायतका समस्याहरु भएमा अवश्य भेटेर जन्मकुण्डली तथा हस्तरेखा देखाउन उनले आग्रह गरेका छन् । 

आफ्ना शिष्यद्वारा वीरगञ्जका पसलहरुमा पर्चा वितरण गर्दै उनले हस्तरेखा र जन्म कुण्डली देखाउनका लागि अनुरोध गरेका छन् । ज्योतिषीमार्फत कुनै जादु तथा चमत्कार नहुने स्विकार गर्दै उनले मनोबल बढाउन तथा भविष्य हेर्नका लागि सहयोगी हुने दाबी गरे । 

सबै परिवारको हस्तरेखा तथा जन्मकुण्डली हेरेको १०५ रुपैयाँ शूल्क पनि उनले तोकेका छन् । तथापी कसैले स्वईच्छाले कम तथा बढी पनि दिने गरेको उनको भनाई छ । 

यसअघि वीरगञ्जको चिनीमिलमा धार्मिक शिविरको नाममा काली कम्बल वाला बाबा आएका थिए । कम्बल ओढाएकै भरमा सबै रोग निको पार्ने दाबी गरेका उनलाई प्रहरीले पक्राउ गर्न खोज्दा उनी एकाएक गायब भएका थिए । सोही क्रममा आइतवार स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो । 

Back to top