×

वीरगन्ज ६ भदौ । पर्सागढी नगरपालिका वडा नं. १ भटनीका एकजना पीडित युवतीलाई चार दिनसम्म बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको आरोपीलाई छुटाउन स्थानीयदेखि केन्द्रीय नेताहरू लागिपरेका कारण जिल्ला प्रहरी कार्यालय, पर्सालाई यति बेला राजनीतिक दबाब थेगी नसक्नु भएको छ ।

पर्सागढी नगरपालिका वडा नं. १ भटनी निवासी २५ वर्षीय सुरेन्द्रसाह तेलीलाई साउन १७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । पीडित युवतीको किटानी जाहेरीको आधारमा तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कमजोर आर्थिक अवस्थाकी युवतीलाई तेलीले आफनै घरमा बन्धक बनाई चार दिनसम्म यातनासहित यौन शोषण गरेको पीडित पक्षको आरोप छ । तेलीको बन्धकबाट मुक्त भएपछि उनका अभिभावकले प्रहरी चौकी मनवामा उजूरी दिएका थिए ।

आरोपित साहलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, पर्सा पठाएको प्रहरी सहायक निरीक्षक भरत यादवले बताए । प्राप्त जानकारी अनुसार तेलीले युवतीसँग यौन दुव्र्यवहार गरेको भिडियोसमेत बनाएका छन् । यो कुरा स्थानीय केही अगुवाहरूलाई पनि थाहा भएको र उनीहरूले पीडित युवतीसँग पीडक तेलीको विवाह गराएर घटना सामसुम पार्ने प्रयास पनि गरेका थिए ।

पछि घटना प्रहरीमा पुगेर आरोपित पक्राउ परेपछि युवतीलाई आर्थिक प्रलोभन दिने र घटना सामसुम पार्न प्रहरीलाई दबाब दिने क्रम शुरू भएको समाचार स्रोतले जनाएको छ । पीडक तेली परिवार आर्थिकरूपले सम्पन्न र राजनीतिक पहुँच भएकोले उनलाई छुटाउन सबै खाले चलखेल शुरू भएको बताइएको छ ।

“पीडित युवतीका अभिभावक गरीब र सीधासोझा छन् । घटना सबैलाई थाहा छ तर पनि पीडितको पक्षमा गाउँमा कोही बोल्न सक्दैन”– चौधरी थरका एकजना वृद्धले नाम नछाप्ने शर्तमा गुनासो गरे ।

गाउँमा केही प¥यो भने उसैलाई गुहार्न जानुपर्छ, गाउँले र नेताहरूका लागि गर्ने–भन्ने नै उनीहरू हुन गाउका एक वृद्धले प्रस्ट्याए । पीडकलाई छुटाउन र पीडितलाई मनाउन सत्ता पक्ष र विपक्ष एमाले र मधेशीदलको नेताहरूको सक्रियता बढेको एकजना प्रहरी अधिकारीले बताएका छन् ।

Back to top