×

वीरगञ्ज, ४ मंसिर ।  राष्ट्रिय पर्यवेक्षकको जिम्मेवारी पाएका वीरगञ्जका बरिष्ठ उद्योगी अशोक बैद्यले यहाँका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गरेका छन् ।

राष्ट्रिय व्यवसायिक पहल संस्थाबाट राष्ट्रिय पर्यवेक्षकको जिम्मेवारी पाएका बैद्यले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बाहेकका अन्य विभिन्न वडाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरेका हुन् । 

अनुगमनका क्रममा उनले सामान्य झडप तथा विवाद बाहेक शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न भएको पाएका छन् । यात्रा डेलीसँग कुराकानी गर्दै उनले भने, ‘मैले वीरगञ्जका विभिन्न वडाहरुका झण्डै १० भन्दा बढी मतदान केन्द्रमा पुगेर अवलोकन गरे । त्यस अवसरमा सामान्य झडप एवम् विवाद बाहेक शान्तिपुर्ण ढंगमा निर्वाचन सम्पन्न भएको पाएको छु ।’ 

बैद्यले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, ४, ५, १६, १९,२४ लगायतका वडाका मतदान केन्द्रहरुको अनुगमन तथा अवलोकन गरेका हुन् । उनका अनुसार कतिपय ठाउँमा भिडभाड धेरै भएर लाइन लाग्नुपर्ने अवस्था थियो भने कतिपय स्थानका मतदान केन्द्र सुनशान देखिन्थे ।

मतपत्रको राम्रोसँग व्यवस्थापन गरिएको हुँदा यो पटक बदर हुने सम्भावना कम देखिएको बैद्यले बताए ।  मतदाताहरुमा उत्साह नदेखिएका कारण अपेक्षित मत खस्न नसकेको पनि उनले बताए । बृद्धबृद्धा भन्दा पनि यसपाली युवाको आकर्षण धेरै देखिएको उनको बुझाई छ । 
 

Back to top