×

वीरगन्ज २५ असार । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा अज्ञात समूहले डेस्क बेञ्च तोडफोड गरेको छ ।

कक्षा ५ र ६ अध्यापन हुने दोस्रो तलामा रहेको कक्षा कोठाको ३५ थान डेस्क बेञ्च तोडफोड भएको हो । फर्निचर तोडफोड गरेर केही थान माथिबाट तल खसाल्नुको साथै उनीहरुले तल्लो तलाको एउटा झ्यालको पल्ला समेत झिकिदिएका छन् ।

तोडफोडबाट झण्डै डेढ लाख मूल्य बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक विजय पोखरेलले जानकारी दिए । विद्यालयमा ३ सय ५० जना विद्यार्थी भर्ना भएका छन् । डेस्क बेञ्च तोडफोड भएका कारण बुधबार विद्यालयमा पठन–पाठन प्रभावित भएको छ ।

यसअघि पनि बिद्यालयबाट पानी तान्ने मोटर र पंखा चोरी भइसकेको प्रधानाध्यापक पोखरेलले बताए । घटनास्थलको वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखाको टोलीले पनि अवलोकन गरेको छ । महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयको फर्निचर तोडफोड गर्ने जस्तो निकृष्ट कार्य गर्नु एकदमै गलत भएको बताए ।

Back to top