×

वीरगंज, २८ जेठ - घुस खानमा महारथ हासिल गरेका नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. इनामुल हकमाथि सत्ताको धाप भएपछि देखिने गरी पनि लुट कान्छा लुटको शैलीमा भ्रष्टाचार गरेपनि उनलाई रोक्न कोही पनि देखा परेन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको छानबिनको लागि आएको टोलीपनि ४–५ घण्टा नाटक नौटंकी गरेर भाग शान्ति जय नेपाल गरेर फर्केपछि डा। एनामुल हकको छाती चौडा भएको छ ।

नेपालमा मेडिकल माफियाको रुपमा चिरपरिचित रहेका विशाल पंडितसंग सांठगांठ गरी नारायणी अस्पतालले मुटु रोगीहरूका एनजिओग्राफीकालागि ५ करोडको लागतमा क्याथ ल्याब मेशिन जडान गर्ने उद्देश्यले हालै एउटा टेन्डर आहृवान गरी हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.को पोल्टामा पारिएको छ ।

बायो मेडिकल इन्जिनीयर पदमा मिश्रा र उषा पौडेललाई दाम चढाएर हस्पिटेकको सामान खरिद गर्ने गरी स्पेक बनाइएको सन्दर्भमा जेठको पहिलो साता नै विभिन्न संचार माध्यमले समाचार प्रकाशन गरेको थियो । तर डा. हकमाथि उपप्रधानमन्त्री उपेन्द्र यादवको हात भएकै कारण उनले मोटो नजराना बुझी हस्पिटेकको टेण्डर सदर गरी २० गते गोरखापत्रमा सूचना प्रकाशन गरेका छन् ।

हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. काठमाण्डौंले हालेको टेण्डर सम्बन्धमा गोरखापत्र दैनिकमा जेठ २० गते बोलपत्र स्वीकृत गरेको आशयको सूचना प्रकाशित गरेपछि इष्ट वेष्ट प्रा.लि.का सुदिप कुमार ओलीले नारायणी अस्पतालका मेसुलाई जेठ २३ गते एक पत्रलेखि आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आफ्नो कम्पनिलाई पर्नुपर्ने टेण्डर नपरेको र सार्वजनिक खरिद ऐन विपरित नारायणी अस्पतालले कदम चालेको जनाएको छ । डा. एनामुल हकले गरेका भ्रष्टाचार गाथाहरु र उनका मतियारहरुको सन्दर्भमा एकैपटक लेखेर साध्य हुने नभएकोले प्राप्त जानकारी बमोजिम पाठकबृन्द समक्ष जानकारी गराउंदै जानेछौ ।

Back to top