×

वीरगञ्ज ३१ असार प्रहरीले बालविवाह भनेर उमेर पुगेका केटाकेटीको विवाहमा भाँडभैलो गरेको भन्दै परिवारजनले असन्तुष्टि जनाएका छन् । वीरगञ्ज महानगरपालिका-२२ मनियारीमा गत असार २६ गते प्रहरीले बालविवाह हुन लागेको सूचनाको आधारमा रोकेको थियो । पछि बालविवाह नभएको पुष्टि भएको थियो । प्रहरीले अनुसन्धान नै नगरी हचुवाको भरमा दुःख दिएको भन्दै बेहुला पक्षका आफन्तहरुले असन्तुष्टि जनाएका हुन् । प्रहरीको विरोधमा आइतबार केटा पक्षका केही व्यक्तिहरुले पत्रकार सम्मेलन नै गरेका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाको हलमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरु प्रहरीले विवाहकै दिनमा गएर आतंकित पार्ने काम गरेको आरोप लगाए । उनीहरुले प्रहरीबाट भएको यस्तो ज्यादती अब दोहोरिन नहुने बताए । ‘केटा र केटी पक्ष दुवैतिर गरेर विवाहको तयारीका लागि झण्डै १० लाख खर्च भएको छ त्यो सबै खेर गयो,’ उनीहरुले भने, ‘ अब यसको क्षतिपूर्ति कसले दिन्छ ?’ वीरगञ्ज महानगरपालिका वडा नं २२ मनियारी बस्ने उमेश प्रसाद यादवको छोरा अमरेन्द्र यादवको विवाह सोही गाउँका चतुरीप्रसाद यादको छोरी संगिता कुमारीसँग असार २६ गते बिवाह हुँदै थियो । संगिताको उमेर २० वर्ष पूरा नभएको सूचनाको आधारमा प्रहरी टोली गएर उनको बुवालाई नियन्त्रणमा लिएर एक रात हिरासतमा राखेको थियो । पछि नारायणी उपक्षेत्रिय अस्पतालमा परीक्षण गर्दा संगिताको उमेर विवाह गर्न योग्य रहेको प्रमाणित भएपछि प्रहरीले चतुरीलाई छोडिदिएको थियो । स्थानीयले उनीहरुको विवाह तोकिएको दिन भन्दा भोलिपल्ट अर्थात असार २७ गते गराएका थिए । चतुरी नेपाल प्रहरीमै कार्यरत छन् । पत्रकार सम्मेलनमा वडा नं २२ को वडा सदस्य समेत रहेका अमरेन्द्रका काका मुनेश प्रसाद यादवले स्थानीय जनप्रतिनीधिसँग समेत समन्वय नगरी प्रहरीले ज्यादती गरेको आरोप लगाए । ‘प्रहरीले विवाह हुने दिन नै गएर धरपकड गरेर गाउँ समाजलाई आतंकित पार्ने काम गरेको छ,’ उनले भने, ‘यस्ता गतिविधि आगामी दिनमा प्रहरीबाट नदोहोरियोस भनेर पत्रकार सम्मेलन गरेका हौं ।’ स्थानीय शिवचन्द्र यादवले पछिल्लो दिनमा प्रहरीको दादागिरी नै बढेको आरोप लगाए । पञ्चायती व्यवस्थामा जस्तो व्यवहार प्रहरीले देखाएको उनको भनाइ छ । ‘प्रजातन्त्रमा पहिला सुन्नुस, अनि थुन्नुस हुनुपर्ने तर पर्सामा पहिला थुन्नुस अनि सुन्नुस भने जस्तै भएको छ,’ उनले भने ‘ प्रहरीले कसैको कुरा नसुनेर विवाहकै दिन केटीको बुवालाई उठाउने काम गर्‍यो ।’ उनीहरुले विवाहको दिन प्रहरीले हचुवाको भरमा परिवारका सदस्यलाई पक्राउ गरेका कारण जन्तीको लागि बनाएको खानेकुरा र अन्य तयारी सबै खेर गएको दावी गरेका छन् । पर्साका प्रहरी उपरीक्षक रेवति ढकालले भने विवाहकै दिन सूचना आएको र परिवारसँग छोरी बालिग भएको प्रमाणित गर्ने कागजात नभएकोले अभिभावकलाई पक्राउ गर्न परेको बताए । ‘सूचना आइसकेपछि प्रहरी चुप लागेर बस्ने कुरा भएन, शुरुमा अभिभावकले नै छोरी १७/१८ वर्षको भइन भनेका थिए । पछि नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याब परीक्षण पछि चिकित्सकले २०/२२ वर्षको भएको बताएपछि अभिभावकलाई छोडिदियौं ।’ उनले, ‘केटिको परिवारसँग जन्मदर्ता, नागरिकता, शैक्षिक प्रमाणपत्र लगायत उमेर खुल्ने कुनै कागजपत्र नभेटिएकोले पक्राउ गर्न बाध्य भयौं ।’ कानूनमा २० वर्ष उमेर पूरा भएपछि मात्रै विवाह गर्नुपर्ने प्रावधान भएपनि तराई मधेसमा विभिन्न बहानामा बालविवाह हुँदै आएको छ । यसवर्ष पर्सा प्रहरी र सामाजिक अभियन्ताहरुले मिलेर ५ वटा बाल विवाह रोकिसकेका छन् ।

Back to top