×

वीरगंज, वैसाख १२ – गत वैसाख ६ गते केटापक्षले दाइजोको लागि दवाव दिए पछि एक युवतीले आत्माहत्या गरेकी थिईन । विवाहको केहि दिन अगाडी केटापक्षले तोकिएको दाइजोको रकम भन्दा बढि माग गरे पछि मानसिक तनावले वीरगंज महानगरपालिका वडा नं. २३ कि १८ वर्षीय रविता कुमारीले आत्मा हत्या गरेकी थीइन ।

उक्त घट्नालाई लिएर जिल्ला प्रहरी कार्यालय पर्साले रवितालाई आत्महत्या गर्न बाध्य पार्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा बहुदरमाई नगरपालिका वडा नं ८ बस्ने बच्चु भनिने जयनारायण साहलाई पक्राउ गरेको हो । रविताको आत्माहत्या गर्न बाध्य बनाउने आरोपमा प्रहरीले साहलाई सामाजिक सुधार ऐन २०३३ अनुसार मुद्दा दर्ता गरि पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार साहका २१ बर्षीय छोरा शिव दयाल र दिनदयाल साह तेलीको छोरी रबिता कुमारीबीच सुनका गहना लगायत दाईजो लेनदेन समेतको कुरा मिलाएर विवाहको कुरा छिनिएको थियो तर विवाहको केहि दिन पहिला थप दाइजो माग गरे पछि मानसिक तनावका कारण रविताले आत्महत्या गरेकी थीइन ।

विवाह गर्ने किटान भई विवाहको लागि आवश्यक तयारी सुरु गरि निमन्त्रणा कार्ड समेत छपाई सकेको अवस्थामा साह र उनको छोरा कुमारले मृतक रविताको बुवा दिनदयाललाई फोन गरी थप ८० हजार दाईजो माग गरे पछि दयालले मागेको दाईजो दिन सक्ने अवस्था नरहेको भनी बताएपछी जयनारायणले ‘दाईजो न दिने भए विवाह गर्न आउदैनौ’ भनेका थिए । उनीहरुबीच भएको टेलिफोन संवादबारे जानकारी पएपछि रबिता कुमारीले शिव दयाल (विवाह हुन लागेको केटा) सँग फोन सम्पर्क गरी बुझ्दा उसले पनि त्यही कुरा दोहोर्याए ।

दाईजो मागेकै कारण तनावमा पुगेर किशोरीले आत्महत्या गरेको पुष्टी हुन आएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मी बताउँछन् । ‘दाईजो कै विषयलाई लिएर किशोरी तनावमा आई आत्महत्या गरेको देखिन्छ’ उनले भने, ‘त्यसैले आत्महत्या गर्न बाध्य पार्ने साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं ।’

दाईजो नदिएको वा कम दिएको भन्ने केटापक्षको दबाव वा धम्कीका कारण विवाह हुनै लाग्दा किशोरीले आत्महत्या गर्नु निकै दु.खद घटना भएको उनको भनाई रहेको छ । पिडित पक्षबाट जाहेरी दरखास्त नपरेता पनि प्रहरीले मुद्दा दर्ता गरि अनुसन्धान अगाडी बढाएको उनले बताए ।

Back to top