×

चितवन चैत १९ भारतबाट ल्याइँदै गरेको आठ टन कुखुराको मासु चितवनमा नियन्त्रणमा लिइएको छ। यू पी ७० बी टी १७७६ नम्बरको ट्रकमा ल्याइएको कुखुराको मासु भरतपुर महानगरपालिका–१, रामनगरबाट आइतबार राति नियन्त्रणमा लिइएको हो। गगन सप्लायर्सको नाममा क्वारेन्टाइन बनाई भैरहवाबाट काठमाडौं लैजाँदै गर्दा मासु नियन्त्रणमा लिइएको हो। चितवनका कुखुरा पालक किसान र माओवादी केन्द्र निकट योङ् कम्युनिष्ट लिगको ९वाइसीएल०का प्रतिनिधिले मासु नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाएका छन्। नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोख्रेलले पशु क्वारेन्टाइनबाट परीक्षण हुनु पर्नेमा कृषि क्वारेन्टाइन कार्यालयबाट परीक्षण गरी अवैध रुपमा मासु भित्र्याइएको बताए। प्लान्ट क्वारेन्टाइन बेलहियाको चलानी नम्बर १५८८६ को पत्रअनुसार क्वारेन्टाइनले जाँचपास गराएको पाइएको छ। व्यवसायीहरुले प्रशासनकै मिलेमतोमा मासु काठमाडौ‌ं भित्र्याउन लागेको आरोप लगाएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले यस विषयमा अनुसन्धान भइरहेको बताएका छन्। भारतमा पछिल्लो समयमा कुखुरामा बर्डफ्लु देखिएको छ। बर्डफ्लु देखिएसँगै भारतमा उत्पादित कुखुराजन्य वस्तु नेपाल भित्र्याउन नपाउने व्यवस्था रहेको छ।

Back to top