×

वीरगंज ३ पौष दुई नम्बर प्रदेशमा मधेस केन्द्रित दलको बहुमत आएसंगै प्रान्तीय राजधानी र मुख्यमन्त्री पदका लागि बहस सुरु भएको छ ।

प्रदेश राजधानीको विषयलाई लिएर विभिन्न सामाजिक सञ्जालदेखि लिएर वीरगंजमा दवाब समूह नै बनाएर छलफल र बहस सुरु गरिएको छ ।

प्रदेश नं २ का ८ जिल्लामध्ये मधेस आन्दोलन ताका पर्साका नागरिकले बढी साथ दिएको र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पर्सामा मधेसी दलले जितेकाले राजधानी वीरगञ्जमा राख्नुपर्ने वीरगञ्जवासीको भनाइ छ ।

यहाँका युवाहरुले संघर्ष समिति नै बनाएर वीरगंज राजधानी हुनुपर्ने माग राखेका छन्, जसलाई नागरिक अगुवाहरुले पनि साथ दिएका छन् । नागरिक सामाजका अगुवा पन्नालाल गुप्ताले राजधानीको लागि आवश्यक सबै पूर्वाधार वीरगञ्जमा भएकाले स्वभाविक रुपमा वीरगञ्लाई राजधानी बनाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले मधेस केन्द्रित दलले स्पष्ट धारण सार्वजनिक गर्नुपर्ने बताउँदै वीरगंजलाई प्रान्तीय राजधानी नबनाए पनि न्यायिक र आर्थिक राजधानी बनाएर समस्या समाधान गर्नुपर्ने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले वीरगञ्जलाई प्रशासनिक भन्दा पनि आर्थिक राजधानी बनाउनुपर्ने सुझाव दिदै प्रदेशको विशेष आर्थिक तथा औद्योगिक क्षेत्र बनाउनुपर्ने धारणा राखे।

नेपाली कांग्रेसको जिल्ला समितिले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने निर्णय गरी सरकारलाई ज्ञापनपत्र नै बुझाएको छ । जिल्ला सभापति अजय द्विवेदीले नेपालको आर्थिक नगरी भनेर चिनिने वीरगञ्जमा सबै पूर्वाधार भएकाले राजधानी कायम गर्नुपर्ने बताए ।

उनले वीरगञ्जलाई प्रदेश राजधानी नबनाए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिए। संघिय सामाजवादी फोरम नेपालका पर्सा अध्यक्ष तथा क्षेत्र नं.१ बाट निर्वा्चित सांसद प्रदीप यादवले भने वीरगंज राजधानीको लागि पहल गर्ने बताउँदै अन्य दलको पनि साथको आवश्यकता रहेको बताए ।

यता मधेस केन्द्रित दलका समर्थकहरुले भने प्रदेश नं.२ को राजधानी वीरगञ्ज भए मुख्यमन्त्री वीरगञ्जबाट हुनुपर्ने माग राखेका छन् । राजपा नेपालका युवा नेता तथा जिल्ला सचिव धर्मेन्द्र पटेलले ६ महिनाको मधेस आन्दोलनमा बाँकी जिल्ला सुतेको बेला पर्साबासीले नाकामा जागेर आन्दोलनलाई उचाईमा र्पुयाएको तर्क गर्दै कि राजधानी वीरगञ्जलाई बनाउनुपर्ने होइन भने मुख्यमन्त्री पर्साबाट हुनुपर्ने धारणा ब्यक्त गरे ।

प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र रहेको पर्सामा ४ वटै प्रतिनिधिसभा र ८ मध्ये ६ वटा प्रदेशसभा सदस्यमा मधेसकेन्द्रित दलले जित हासिल गरेका छन ।

Back to top