×

हेम चापागाई /पर्सा (बिजयबस्ती) मंसीर ११ हुलाकी सडक खण्ड अन्तर्गत पर्साको जीराभवानी गाउँपालिकाको को जगतिया चोकदेखी ठोरी गाउँपालिकाको सरस्वती नगर सम्मको कन्ट्रक्सन सर्भे अर्थात अन्तिम सर्भे सुरु भएको छ । जगतिया देखी सरस्वती नगर सम्मको सडक निर्माणको ठेक्का पाएको कम्पनी बिनय निर्माण सेवाले सडक निर्माणको लागि अन्तिम सर्भे सुरु गरेको हो । सोमबार बिजयबस्ती आईपुगेको सर्भे टोलीले १५ दिन भित्रमा ठोरीको सरस्वतीनगर सम्मको सडक निरिक्षण गरिसक्ने टोलीका प्रमुख तथा साईट इन्जिनियर बिक्रम ज्ञावालीले बताएका छन् । जगतिया देखी सरस्वती नगर सम्मको सडक निर्माणको लागी १ अर्ब ६ करोडमा ठेक्का लिइएको उक्त सडक खण्ड गुणस्तरीय र डबल लेनको हुने इन्जिनियर ज्ञावालीले बताएका छन् । केही दिन अघिदेखी सुरु भएको सडक सर्भेको काम सकिएपछि सडकको लेआउट को काम सुरु भइहाल्ने उनले बताएका छन् । निर्वाचन सकिए लगत्तै लेआउटको काम सुरु हुने बताउँदै उनले भने “ अब सरस्वती नगर सम्म सर्भे गरिसक्न करीब १५ दिन लाग्छ होला, त्यसपछि लगत्तै सडकको लेआउट निकाल्ने काम सुरु भै हाल्छ ।” लेआउट निकालेपछि सडकको छेउछेउमा नाली खन्ने काम सुरु गरिने पनि इन्जिनियर ज्ञावालीले बताएका छन् । हुलाकी सडकको निर्माणले पर्साको दुरजराज मानिएको ठोरी गाउँपालिकासंग सदरमुकाम बिरगञ्ज जोडिने छ भने बीचमा पर्ने धेरै गाउँपालिकाहरु लाई बिशेष सुबिधा पुग्ने छ । बर्षौंदेखी सुरु हुने भनिएको उक्त सडक निर्माणको अन्तिम सर्भे हुँदा अबका केही बर्ष भित्रमा यो सडकले मुहुर्त रुप पाउने अन्दाज गर्न सकिन्छ । निर्माण कम्पनीले भने जति सक्दो चाँडो गुणस्तरीय सडक निर्माण गर्न लागि पर्ने बताएको छ ।

Back to top