×

वीरगन्ज ५ कातिक पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको स्वागतमा आइतबार वीरगन्जमा राजतन्त्रवादीले र्‍याली गरेका छन्। भाइटीकाको अवसरमा शनिबर शुभकामना सन्देश दिदै पूर्वराजा ज्ञानेन्द्रले जनताको इच्छा र सहयोग भए मुलुकको नेतृत्व लिन आफू तयार रहेको अभिव्यक्ति दिएपछि त्यसैको स्वागतमा उनका समर्थकले आइतबार वीरगन्जमा र्‍याली निकालेका हुन्।

शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका थिए, ‘दुवोको माला, मखमली र गोदावरी फूलको मालाको महत्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने परिस्थितीमा हामी हिडिरहेका छौं, मुलुकमा नेतृत्व नभएको जस्तो देखिएको छ, त्यसैले अब समय आएजस्तो लाग्छ, जिम्मेवारी दिन र नेतृत्व लिन तयार छु ।’

वीरगन्जको घण्टाघर चोकबाट नेपाल राष्ट्रवाद संघले निकालेको र्‍याली माइस्थान , आदर्शनगर , घडीअर्वा हुँदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालार्इ सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले मुलुकको नेतृत्व सम्हाल्न तयार रहेको भनी पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले सम्पूर्ण नेपाली जनता उत्साहित र खुशी भएको बताए।

राजनीतिक दलका नेताहरुका कारण नै देश अहिलेको दूरावस्थामा पुगेको र जनताले पनि सास्ती खेपिरहेको भन्दै अध्यक्ष साहले अब मुलुकको नेतृत्व ज्ञानेन्द्र शाहले हाक्नु पर्ने बेला आइसकेको बताए।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दलका नेताहरुले पैसा , रक्सी र मासुको बलमा चुनाव जितेको आरोप लगाउदै अध्यक्ष साहले अब आइरहेको प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा पनि फेरि नेताहरुले पैसा , रक्सी र मासुमा किन्ने प्रयत्न गर्ने भएकाले त्यसबाट जनतालाइ सजग बनाउनका लागि नै ज्ञानेन्द्र साहले मुलुकको नतृत्व सम्हाल्न इच्छा देखाएको र त्यसमा सबै जनताले साथ दिने बताए।

Back to top