×

वीरगञ्ज । महोत्तरीको मनराशिसवा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशनका क्रममा नेतृत्व चयनको विषयमा विवाद चर्किँदा झडप भएको छ । झडपमा एक जना कार्यकर्ता गम्भीर घाइते भएका छन् भने अन्य चार जना सामान्य घाइते भएको जनाइएको छ ।

घाइते हुनेमा मनराशिसवा नगरपालिका–८ निवासी गोविन्द कापर रहेका छन् । झडपका क्रममा उनको टाउकोमा चोट लागेको र उपचारका लागि जलेश्वरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

स्थानीय स्रोतका अनुसार आइतबार आयोजित अधिवेशनमा नेतृत्व चयन प्रक्रियालाई लिएर दुई पक्षबिच विवाद उत्पन्न भएको थियो । एक पक्षले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग राखेको थियो भने अर्को पक्षले सहमतिका आधारमा वर्तमान कार्यसमितिलाई निरन्तरता दिनुपर्ने धारणा अघि सारेको बताइएको छ । विवाद चर्किँदै जाँदा कुटाकुटको अवस्था सिर्जना भएको थियो ।

घाइते कापरले वर्तमान नगर सभापति रोमन सिंहले पुनः नेतृत्वमा निरन्तरता खोज्दै निर्वाचन प्रक्रियाबाट पछि हट्न दबाब दिएको आरोप लगाएका छन् । निर्वाचनको पक्षमा आवाज उठाउने कार्यकर्तामाथि हातपात भएपछि स्थिति तनावपूर्ण बनेको उनको भनाइ छ । यद्यपि यस विषयमा प्रतिक्रिया लिन खोज्दा नगर सभापति सिंहसँग सम्पर्क हुन सकेन ।

झडपपछि अधिवेशन स्थलमा केही समय अफरातफरीको अवस्था सिर्जना भएको थियो भने कार्यक्रम प्रभावित भई प्रक्रिया अवरुद्ध बनेको जनाइएको छ । प्रहरीका अनुसार घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ र स्थिति नियन्त्रणमा लिन आवश्यक पहल गरिएको छ ।

रास्वपाले आगामी महाधिवेशनको तयारी स्वरूप देशभर नगर अधिवेशन सञ्चालन गरिरहेको छ । तर मनराशिसवामा देखिएको पछिल्लो घटनाले पार्टीभित्रको आन्तरिक व्यवस्थापन, नेतृत्व चयन प्रक्रिया तथा लोकतान्त्रिक अभ्यासबारे प्रश्न उठाएको स्थानीय राजनीतिक वृत्तले जनाएको छ । यसअघि जलेश्वर नगर अधिवेशन पनि नेतृत्व चयनसम्बन्धी विवादका कारण प्रभावित भएको थियो ।

नगर अधिवेशनमै झडप र घाइते हुने अवस्था सिर्जना हुनु महाधिवेशनको तयारीमा रहेको रास्वपाका लागि चुनौतीपूर्ण घटनाका रूपमा हेरिएको छ । घटनाबारे आधिकारिक धारणा आउन बाँकी छ ।

Back to top